नेपाल प्रहरी श्रीमती संघको ४२औँ वार्षिकोत्सव सम्पन्न
काठमाडौं । नेपाल प्रहरी श्रीमती संघको ४२औँ वार्षिकोत्सव बिहीबार नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा विशेष समारोहबीच सम्पन्न भएको छ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा मन्त्री बादीले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। सो अवसरमा उहाँले संघले वर्षभरि सञ्चालन गरेका सामाजिक, मानवीय तथा परोपकारी गतिविधि र समसामयिक विषयमा आधारित लेख–रचनाहरू समेटिएको वार्षिक स्मारिका ‘सहचरी २०८३’ विमोचन गर्नुभएको थियो।
समारोहमा सामाजिक सेवाका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने समाजसेवी तथा प्रारम्भिक बाल विकास केन्द्रकी संस्थापक अध्यक्ष पुष्पा बस्नेत, KIN INDIA का निर्देशक नवीन जोशी, पारा तेक्वान्दो राष्ट्रिय खेलाडी पलेशा गोवर्धन, प्रहरी जवान सहाना बोहरा तथा राष्ट्रिय बक्सिङ खेलाडी एवं प्रहरी कार्यालय सहयोगी नरिका राईलाई मन्त्री बादीले सम्मानपत्र प्रदान गर्नुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बादीले बदलिँदो सामाजिक आवश्यकता र समयको मागअनुसार नेपाल प्रहरी श्रीमती संघले आफ्नो सेवाको दायरा निरन्तर विस्तार गर्दै सामाजिक उत्तरदायित्व, सेवाभाव र मानवीय योगदानको सशक्त उदाहरण प्रस्तुत गरेको बताउनुभयो।
नेपाल प्रहरीले कर्तव्य निर्वाह गर्ने क्रममा प्रहरी परिवारका सदस्यहरूले देखाउँदै आएको धैर्य, साहस, त्याग र समर्पण पनि उत्तिकै महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले प्रहरी परिवारका सदस्यहरूको संवेदनालाई सामाजिक सेवामार्फत शक्तिमा रूपान्तरण गर्नु संघको महत्वपूर्ण विशेषता भएको बताउनुभयो। आगामी दिनमा संघले संस्थागत सुशासन, पारदर्शिता र सेवाको प्रभावकारितालाई अझ सुदृढ बनाउँदै लैजाने विश्वाससमेत उहाँले व्यक्त गर्नुभयो।
विशिष्ट अतिथि राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले सामाजिक सेवा तथा विभिन्न मानवीय कार्यक्रममार्फत नेपाल प्रहरी श्रीमती संघले पुर्याउँदै आएको योगदानको प्रशंसा गर्नुभयो। उहाँले आगामी दिनमा संघले आफ्नो सेवाको क्षेत्र विस्तार गर्दै प्रहरी परिवारको हितसँगै समाजमा विद्यमान कुसंस्कार, विकृति र विसंगतिको अन्त्य, सामाजिक सुधार तथा महिला सशक्तीकरणका क्षेत्रमा थप पहल गर्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरी श्रीमती संघको ४२औँ वार्षिकोत्सवका अवसरमा सम्पूर्ण नेपाल प्रहरी परिवारका तर्फबाट शुभकामना व्यक्त गर्नुभयो।
उहाँले कर्तव्य पालनाका क्रममा जीवन अर्पण गर्ने अमर प्रहरीका आश्रित परिवार तथा घाइते भई उपचाररत प्रहरी कर्मचारीलाई संघले गर्दै आएको सहयोगले कठिन समयमा आत्मीयता र एकताको अनुभूति गराएको बताउनुभयो।
प्रहरी परिवारका सन्ततीका लागि छात्रवृत्ति, स्वास्थ्यसम्बन्धी कार्यक्रम, सामाजिक सचेतना, लागूऔषध दुर्व्यसनमा फसेका व्यक्तिको उपचार तथा पुनर्स्थापना, महिला नेतृत्व विकास र राहत वितरणलगायतका कार्यक्रममार्फत संघले आफ्नो सेवाको दायरा फराकिलो बनाउँदै आएको उहाँले उल्लेख गर्नुभयो।
महानिरीक्षक कार्कीले आगामी दिनमा पनि संघ सामाजिक, मानवीय तथा परोपकारी सेवामा निरन्तर समर्पित हुँदै समाज र प्रहरी परिवारबीचको मानवीय सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो।
सो अवसरमा महानिरीक्षक कार्कीले विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तिहरूलाई कदरपत्र प्रदान गर्नुभएको थियो। यस्तै, संघकी अध्यक्ष नविना खत्री कार्कीले सामाजिक सेवामा प्रशंसनीय तथा उल्लेखनीय योगदान पुर्याउने व्यक्ति, प्रहरी कर्मचारी तथा विद्यार्थीहरूलाई प्रशंसापत्र प्रदान गर्नुभएको थियो।
संघकी अध्यक्ष कार्कीले धन्यवाद मन्तव्य व्यक्त गर्दै स्थापना कालदेखि नै सेवा, समर्पण र सामाजिक उत्तरदायित्वलाई मूल आधार बनाएर प्रहरी परिवार तथा समग्र समाजको हितमा संघले निरन्तर काम गर्दै आएको बताउनुभयो। उहाँले आगामी दिनमा सेवाको दायरा अझ फराकिलो बनाउँदै सामाजिक रूपान्तरण तथा महिला सशक्तीकरणको अभियानमा प्रभावकारी र गुणस्तरीय योगदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
संघकी सचिव वरुणा थपलियाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा संघका पदाधिकारी तथा सदस्यहरूले ‘सहचरी’ गीत प्रस्तुत गरेका थिए। विभिन्न कलाकारहरूले सांस्कृतिक नृत्य तथा गीति नाटकसमेत प्रस्तुत गरेका थिए।
समारोहमा संघले स्थापना कालदेखि हालसम्म सञ्चालन गरेका सामाजिक, मानवीय तथा लोककल्याणकारी गतिविधि, साथै संघ तथा प्रदेशस्तरबाट सञ्चालन गरिएका विभिन्न कार्यक्रम समेटिएको वृत्तचित्रसमेत प्रस्तुत गरिएको थियो।
समारोहमा निजामती कर्मचारी श्रीमती संघकी अध्यक्ष, सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष, संघका पूर्वअध्यक्ष तथा पदाधिकारी, प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक तथा वरिष्ठ प्रहरी अधिकृत, सञ्चारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधि एवं आमन्त्रित अतिथिहरूको उपस्थिति रहेको थियो।
प्रतिक्रिया