भदौ ०५ २०८३, शुक्रबार

देशभर लागूऔषध कारोबार र जबरजस्ती करणीका घटनामा १७ जना पक्राउ

 

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट ठूलो परिमाणमा अवैध लागूऔषधसहित १६ जना र जबरजस्ती करणीको अभियोगमा एक जनालाई पक्राउ गरेको छ। बुधबार विभिन्न जिल्लामा गरिएको प्रहरी कारबाहीका क्रममा गाँजा, ब्राउनसुगर, खैरो हेरोइनजस्तो देखिने पदार्थ तथा नियन्त्रित लागूऔषधसहित उनीहरू पक्राउ परेका हुन्।

सर्लाहीको लालबन्दी नगरपालिका–१४ डाईनी खोलाबाट प्रहरीले ६ सय ६० किलोग्राम गाँजासहित ६३ वर्षीय नरबहादुर थिङ र ५२ वर्षीया जेसुन माया थिङलाई पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले नरबहादुरको घरबाट २६ वटा बोरामा राखिएको करिब ५ सय ६० किलोग्राम तथा जेसुन मायाको गोठबाट चार वटा ड्रममा राखिएको एक सय किलोग्राम गाँजा बरामद गरेको हो।

काठमाडौंको तारकेश्वर नगरपालिका–७ मनमैजुबाट ५ सय ७० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित झापा घर भएका ३६ वर्षीय उमेश मुखिया पक्राउ परेका छन्। प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

मोरङको पथरी शनिश्चरे नगरपालिका–१० संगम टोलबाट पाँच ग्राम ८ सय ६० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित २३ वर्षीय घनश्याम बस्नेत पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

त्यस्तै, झापाको हल्दीबारी गाउँपालिका–२ कदम चोकबाट एक ग्राम ५५ मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित भद्रपुर नगरपालिका–७ का २३ वर्षीय सुबास राजवंशी पक्राउ परेका छन्।

सुनसरीको इटहरी उपमहानगरपालिका–८ बाट खैरो हेरोइनजस्तो देखिने पदार्थ ६ सय मिलिग्राम, ट्रामाडोल ९ सय ४१ ट्याब्लेट, डाइक्लोमाइन एक हजार २ सय ३० ट्याब्लेट र नगद ५३ हजार २ सय १० रुपैयाँसहित मोरङ घर भएका २६ वर्षीय निकेश माझीसहित चार जना पक्राउ परेका छन्। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरसमेतबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीले उनीहरूले प्रयोग गरेको को.३६ प ५५४७ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ।

दाङको तुलसीपुर उपमहानगरपालिका–९ सल्लेवनबाट ३ सय ३० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित २९ वर्षीय प्रेमबहादुर डाँगी र २९ वर्षीय वीरबहादुर चौधरी पक्राउ परेका छन्। यस्तै, लमही नगरपालिका–५ सुनखोली गाउँबाट ५ सय ५० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित भारत घर भएका २३ वर्षीय नसिव अहमद पक्राउ परेका छन्।

कपिलवस्तुको कृष्णनगर नगरपालिका–८ बाट ५ सय मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थ र ६ हजार रुपैयाँ नगदसहित शिवराज नगरपालिका–९ बानियाभारका २२ वर्षीय अर्जुन सुनारसहित तीन जना पक्राउ परेका छन्।

भक्तपुरको सूर्यविनायक नगरपालिका–६ पाण्डुबजार हाइटबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ९० ट्याब्लेटसहित धादिङको धुनीबेशी नगरपालिका–२ घर भएका २९ वर्षीय सुरज लुइटेल पक्राउ परेका छन्।

सुनसरीको धरान उपमहानगरपालिका–१६ स्वामीचोकबाट २१ वर्षीय विदुर कार्कीलाई स्पास्पेन ४ सय २८ ट्याब्लेट र ट्रामाडोल ५ सय ४८ ट्याब्लेटसहित पक्राउ गरिएको छ। उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला परेको प्रहरीले जनाएको छ।

यसैबीच, रामेछापमा ६१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरीको इटहरी उपमहानगरपालिका–१७ घर भएका २१ वर्षीय प्रेम बिसुंखे पक्राउ परेका छन्। ती महिलाले दिएको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय धोबीडाँडाबाट खटिएको प्रहरीले उनलाई बुधबार दिउँसो पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ परेका सबै घटनामा आवश्यक अनुसन्धान भइरहेको छ। 

सांकेतिक तस्बिर 

प्रतिक्रिया

सम्बन्धित समाचार