अनेरास्ववियु झापाले तीज विशेष अनलाइन नृत्य प्रतियोगिता आयोजना गर्ने
झापा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कमिटी झापाले हरितालिका तीजको अवसरमा ‘तीज विशेष अनलाइन नृत्य प्रतियोगिता–२०८३’ आयोजना गर्ने भएको छ।
विद्यार्थी हकहित तथा सामाजिक–सांस्कृतिक रूपान्तरणका क्षेत्रमा सक्रिय रहँदै आएको अनेरास्ववियु झापा जिल्ला कमिटीले नेपाली मौलिक संस्कृति तथा तीज पर्वको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ।
प्रतियोगितामा विद्यार्थीहरूले मात्र सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ। प्रतियोगीले तीजको गीतमा आधारित रहेर नृत्य प्रस्तुत गर्नुपर्नेछ। नृत्यको भिडियो न्यूनतम ४ मिनेट र अधिकतम ६ मिनेटको हुनुपर्नेछ।

आयोजकका अनुसार नृत्यमा अनावश्यक तडकभडक तथा विकृति झल्किने सामग्री समावेश गर्न पाइने छैन। तयार पारिएको भिडियो आयोजकले उपलब्ध गराएको ९८६१७०६२७० वा ९७४६८७६६४५ नम्बरको ह्वाट्सएपमा पठाउनुपर्नेछ।
प्रतियोगितामा प्राप्त भिडियोहरू अनेरास्ववियु झापा जिल्ला कमिटीको आधिकारिक फेसबुक पेजमा पोस्ट गरिनेछन्। प्रारम्भिक चरणमा फेसबुकमा प्राप्त लाइक, कमेन्ट, सेयर र भ्युजलाई आधार बनाएर उत्कृष्ट ७ जना प्रतियोगी छनोट गरिने आयोजकले जनाएको छ।
उत्कृष्ट ७ प्रतियोगी छनोट भएपछि उनीहरूले अनेरास्ववियु झापाद्वारा आयोजना हुने प्रत्यक्ष (लाइभ) कार्यक्रममा आफ्नो नृत्य प्रस्तुत गर्नुपर्नेछ। त्यसपछि निर्णायक मण्डलको अन्तिम निर्णयका आधारमा विजेता घोषणा गरिनेछ।
प्रतियोगितामा प्रथम हुनेले १० हजार रुपैयाँ, द्वितीय हुनेले ५ हजार रुपैयाँ र तृतीय हुनेले ३ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। साथै सहभागी तथा उत्कृष्ट प्रतियोगीहरूलाई प्रमाणपत्र तथा अन्य आकर्षक सांत्वना पुरस्कारसमेत प्रदान गरिने आयोजकले जनाएको छ।
अनेरास्ववियु झापाका अध्यक्ष निगेश श्रेष्ठद्वारा जारी सूचनामा विद्यार्थीहरूलाई आफ्नो मौलिक प्रतिभा प्रस्तुत गर्दै सांस्कृतिक संरक्षणको अभियानमा सहभागी हुन आग्रह गरिएको छ।




तीज पर्वलाई मौलिक संस्कृति, कला र परम्परासँग जोड्दै विद्यार्थीको सिर्जनशीलता उजागर गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले सामाजिक सञ्जालमार्फत विद्यार्थी प्रतिभालाई राष्ट्रिय स्तरसम्म पुर्याउने अवसरसमेत प्रदान गर्ने आयोजकको अपेक्षा छ।
यस वर्ष विभिन्न स्थानमा तीज विशेष नृत्य प्रतियोगिता आयोजना भइरहेका छन्, जसले तीजलाई सांस्कृतिक प्रस्तुति तथा युवा प्रतिभा प्रदर्शनको माध्यमका रूपमा समेत अघि बढाइरहेको देखिन्छ।
प्रतिक्रिया