भदौ ०८ २०८३, सोमबार

पुँजी बजार सुधारका लागि संसद्मा प्रभावकारी भुमिका हुनुपर्छ : सभापति थापा

 

  
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पुँजी बजारको सुधारका लागि संसद्मा प्रभावकारी ढंगले उठाउने बताएका छन्।

कांग्रेस पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति थापाले निर्वाचनपछि पुँजी बजारले अपेक्षाअनुसार गति लिन नसकेको भन्दै त्यसका कारण र तत्काल गर्नुपर्ने सुधारका विषयमा पार्टीले छलफल अघि बढाएको बताए। 

उनले नेपालको पुँजी बजार निर्वाचनपछि अघि बढ्ने अपेक्षा गरिए पनि अपेक्षाअनुसार अगाडि बढ्न नसक्दा पुँजी बजारका समस्या, चुनौती र सुधारका सम्भावित उपायबारे छलफल गरेर पार्टी र संसद्मा त्यसलाई उठाउने  बताएका छन्। 

‘अहिले नेपालको निर्वाचनपछि सबैभन्दा राम्रोसँग अगाडि जाला भनेर अनुमान गरिएको, सबैले अत्यन्त ठूलो उत्साह र अपेक्षा गरेको पुँजी बजार जसरी जानुपर्ने हो, त्यसरी जान सकिरहेको छैन,’ उनले भने, ‘यसका कारण के हुन्, अप्ठ्याराहरू के हुन् र तत्काल सुधारका कुरा के हुन सक्छन् भन्ने विषयमा आज छलफल गरेका हौँ।’ 

साथै उनले ‘सुवर्ण शमशेर इकोनोमिक सिरिज’ अन्तर्गत तत्काल छलफल गर्नुपर्ने विषय, व्यापक तथा सैद्धान्तिक बहस आवश्यक पर्ने विषय र नयाँ पुस्तालाई जोडेर आर्थिक विषयमा ज्ञान तथा बहस विस्तार गर्ने गरी तीन प्रकारका कार्यक्रम सञ्चालन गरिनेछ ।

‘कतिपय एकदम तत्काल जुन विषयका बारेमा छलफल आवश्यक छ, बहस आवश्यक छ, त्यस्ता प्रेसिङ इस्युमा छलफल गर्छौँ । संसद्मा भएको बहस यहाँ आउँछ र यहाँ भएको छलफल संसद्मा जान्छ,’ थापाले भने। 

त्यस्तै, व्यापक र दीर्घकालीन बहस आवश्यक पर्ने सैद्धान्तिक विषयमा बाहिरका विज्ञ तथा पाहुनालाई समेत सहभागी गराएर छलफल गर्ने तयारी रहेको उनले बताए। आर्थिक विषयमा नयाँ ज्ञान र बहस पार्टीभित्र प्रवेश गराउने उद्देश्यले नयाँ पुस्ताका युवालाई जोड्ने तथा फेलोसिपका कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताए। 

प्रतिक्रिया

सम्बन्धित समाचार