मेरो पार्टी र उम्मेदवार स्पष्ट छन्, भ्रम छर्न बन्द गर : मेयर थापा
दमक ।
दमक नगर प्रमुख तथा राप्रपा कोशी प्रदेश अध्यक्ष रामकुमार थापाले पछिल्ला दिनहरूमा आफूलाई लक्षित गर्दै भइरहेको मिडियाबाजी र दुष्प्रचारप्रति कडा आक्रोश व्यक्त गरेका छन्। निर्वाचन नजिकिँदै जाँदा आफ्नो नाम जोडेर योजनाबद्ध रूपमा भ्रम फैलाइएको भन्दै उनले यसलाई राजनीतिक बदनियतको परिणाम भनेका छन्।
केही दिनअघि जन–जी आन्दोलनको समयमा आफ्नो घर जलाउनेहरूले नै पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पार्टी कार्यालय बनाउन घर उपलब्ध गराएको भन्ने अभिव्यक्ति दिएको भन्दै मिडियामा व्यापक प्रचार गरिएकोप्रति पनि मेयर थापा असन्तुष्ट देखिएका छन्। उनले आफूले त्यस्तो कुरा कहिल्यै नबोलेको स्पष्ट पार्दै, तथ्यविहीन समाचार फैलाएर जनतालाई गुमराहमा राख्ने प्रयास भएको आरोप लगाएका थिए।
यसै सन्दर्भमा केहि फेसबुक आइडीबाट आफ्नो नाम जोडेर सामग्रीहरू पोस्ट गरिएकोप्रति उनले गम्भीर आपत्ति जनाएका छन्। विगतमा केपी शर्मा ओलीसँग भएका कार्यक्रमका फोटोहरू सामाजिक सञ्जालमा राखी आगामी निर्वाचनसँग जोडेर एमालेसँग आफ्नो सम्बन्ध देखाउने प्रयास गरिएको भन्दै उनले यसलाई सुनियोजित दुष्प्रचारको संज्ञा दिएका छन्।
मेयर थापाले आक्रोश व्यक्त गर्दै भनेका छन्, 'मेरो पार्टी स्पष्ट छ, मेरो उम्मेदवार स्पष्ट छ। झापा क्षेत्र नम्बर ५ मा राप्रपाका आधिकारिक उम्मेदवार लक्ष्मीप्रसाद संग्रौला नै हुन्। तर केही तत्वहरू जनतालाई भ्रममा पार्न निरन्तर सक्रिय छन्।'
उनले यस्ता हर्कतले राजनीतिक प्रतिस्पर्धालाई अस्वस्थ बनाउने चेतावनी दिँदै मतदातालाई भ्रमको पछि नलाग्न आग्रह गरेका छन्। साथै, राप्रपाको चुनाव चिन्ह ‘हलो’ मा मतदान गरी उम्मेदवार लक्ष्मीप्रसाद संग्रौलालाई विजयी गराउन आह्वान गरेका छन्।
स्थानीय राजनीतिमा प्रभावशाली व्यक्तित्व मानिने मेयर थापामाथि केन्द्रित यो दुष्प्रचारले झापा–५ को चुनावी वातावरण थप तातिँदै गएको संकेत देखिएको छ।

प्रतिक्रिया