झापा–५ मा राप्रपा उम्मेदवार संग्रौला एकाएक चर्चामा, निर्णायक मत तान्ने अनुमान
झापा । झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार लक्ष्मीप्रसाद संग्रौला पछिल्ला दिनहरूमा एकाएक चर्चामा आउन थालेका छन्। सुरुवाती चरणमा खासै चर्चामा नदेखिएका संग्रौला सामाजिक सञ्जाल र ग्रामीण भेगका मतदातामाझ क्रमशः लोकप्रिय बन्दै गएको देखिन्छ।
हिन्दु अधिराज्य र राजसंस्थाको पुनर्स्थापनाको एजेन्डा बोकेको राप्रपाका उम्मेदवारको खोजीमा रहेका मतदाताहरू संग्रौलातर्फ आकर्षित हुन थालेको पाइन्छ। एमाले अध्यक्ष केपी शर्मा ओली र काठमाडौँ महानगरपालिकाका निवर्तमान प्रमुख बालेन्द्र साहमध्ये कसले बाजी मार्ला भन्ने चर्चा चलिरहँदा तेस्रो विकल्पका रूपमा संग्रौलाको नाम लिइन थालिएको छ।
स्थानीयस्तरमै बसेर लामो समयदेखि सामाजिक सेवामा सक्रिय संग्रौला इमानदार र त्यागी नेताका रूपमा परिचित छन्। क्यान्सर तथा मिर्गौला पीडितको उपचार सहयोग, कोरोना महामारीका बेला निःशुल्क एम्बुलेन्स सेवा तथा विपन्न परिवारलाई खाद्यान्न वितरणजस्ता कार्यले ग्रामीण मतदातामाझ उनको छवि बलियो बनेको विश्लेषण गरिएको छ।
करिब १ लाख ६३ हजार मतदाता रहेको झापा–५ मा राप्रपाले विगतका निर्वाचनहरूमा पनि सम्मानजनक मत प्राप्त गर्दै आएको छ। गौरिगञ्ज, गौरादह, कमल गाउँपालिका र दमक नगरपालिका समेटिएको यस क्षेत्रमा दमक नगरपालिकाका मेयर राम थापा राप्रपाबाट निर्वाचित भएका थिए। त्यस्तै, गौरिगञ्ज गाउँपालिकामा २०७४ सालको निर्वाचनमा राप्रपाकै बाबुराजा श्रेष्ठ अध्यक्षमा विजयी भएका थिए भने २०७९ मा उनी झिनो मतान्तरले पराजित भएका थिए।
राजनीतिक विश्लेषकहरूका अनुसार वर्तमान चुनावी माहोल हेर्दा संग्रौलाले उल्लेख्य मत ल्याउने सम्भावना देखिएको छ। अनुमान अनुसार उनले १५ हजारदेखि २५ हजारसम्म मत ल्याउन सक्ने र चुनावी एजेन्डा राजसंस्था तथा हिन्दु राज्य केन्द्रित बनेमा यो संख्या अझै बढ्न सक्ने आँकलन गरिएको छ।
यस अर्थमा संग्रौला झापा–५ को निर्वाचनमा जित–हारको समीकरण बदल्ने ‘निर्णायक उम्मेदवार’ बन्न सक्ने सम्भावनालाई नकार्न नसकिने स्थानीय जानकारहरू बताउँछन्।
प्रतिक्रिया