फाल्गुण ०५ २०८२, मंगलबार

झापा–५ मा विकासको नयाँ लहर: ओलीको घोषणा ‘रंगशाला र आईटी हब अब प्राथमिकतामा’

Ads


दमक, झापा | माघ २०८२
नेकपा (एमाले) का अध्यक्ष तथा झापा क्षेत्र नम्बर–५ का उम्मेदवार केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्रमा विकासका ठूला परियोजनाहरूलाई तीव्र गतिमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। चारदिने झापा भ्रमण सम्पन्न गरी काठमाडौं फर्किनुअघि ओलीले मतदाता भेटघाट, घरदैलो कार्यक्रम तथा युवा भेलामा सहभागी हुँदै 'झापाको मुहार फेरिएको छ, अब यसलाई अझ आधुनिक र समृद्ध बनाइनेछ' भन्ने सन्देश दिएका छन्।
ओलीले आफ्नो अभियानका क्रममा झापा–५ लाई विकासको केन्द्र बनाउने तीन मुख्य प्रतिबद्धतामा जोड दिएका छन्।
अन्तर्राष्ट्रिय स्तरको रंगशाला
दमकमा लामो समयदेखि अवरुद्ध रहेको रंगशाला निर्माण अब चुनावपछि तुरुन्तै सुरु गरिने ओलीको दाबी छ। अवरोधहरू हटाएर रंगशालालाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गर्ने योजना रहेको बताउँदै उनले यसले खेलकुद, पर्यटन र युवाको भविष्यमा नयाँ सम्भावना खोल्ने विश्वास व्यक्त गरे।
'झापालाई खेलकुदको हब बनाउने हाम्रो सपना अब पूरा हुन्छ,' ओलीले भने।
आईटी हबमा रूपान्तरणको योजना
जेन–जी आन्दोलनका क्रममा क्षति पुगेका दमकका संरचनाहरूलाई भत्काउने होइन, प्रविधि र नवप्रवर्तनको केन्द्र बनाउने ओलीको योजना छ। भ्यू टावर र कमर्सियल कम्प्लेक्स जस्ता संरचनालाई आईटी हबमा रूपान्तरण गरी युवालाई प्रविधिमैत्री रोजगारीको अवसर सिर्जना गरिने उनको भनाइ छ।
'जलाइएका संरचनालाई विकासको आधार बनाउँछौं,' ओलीले स्पष्ट पारे।
पूर्वाधारमा देखिने उपलब्धि
रतुवा खोलामा तटबन्ध निर्माण, मदनडाँगी–ताराबारी सडक स्तरोन्नति, बेलडाँगी खानेपानी आयोजना लगायतका योजनाबाट स्थानीयले प्रत्यक्ष लाभ लिएको ओलीले दाबी गरे। घरदैलोका क्रममा यी आयोजनालाई उदाहरणका रूपमा प्रस्तुत गर्दै उनले “विकास हेरेर मत दिनुस्” भन्ने आग्रह गरेका छन्।
चारदिने बसाइँमा ओलीले कमल, गौरादह, गौरीगञ्ज र दमक क्षेत्रमा मतदाता भेटघाट, क्षतिग्रस्त संरचनाको स्थलगत अवलोकन तथा युवा भेला सञ्चालन गरे। एमालेको ५०१ सदस्यीय निर्वाचन परिचालन समिति र पूर्वमन्त्री देवेन्द्र दाहालको नेतृत्वमा संगठनात्मक गतिविधि तीव्र बनाइएको छ।
ओलीले यस पटक '७० प्रतिशतभन्दा बढी मतसहित जित्ने' दाबी गर्दै विकासकै आधारमा जनसमर्थन प्राप्त हुने विश्वास व्यक्त गरे। यद्यपि यस क्षेत्रमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) सँग प्रतिस्पर्धा रहेको भए पनि एमालेको सांगठनिक शक्ति र ओलीको विकास रेकर्ड बलियो आधार बनेको स्थानीयको बुझाइ छ।
स्थानीय मतदाताहरू भन्छन्,
'ओलीले गरेका काम देखिन्छन्। अब झापाले अझ ठूला सपना देख्न पाओस्।'
झापा–५ अहिले विकास र भविष्यको दिशाबारे केन्द्रित चुनावी बहसको केन्द्र बनेको छ। फागुन २१ को निर्वाचनले यो विकास यात्रालाई मतदाताले कुन दिशामा अघि बढाउँछन्, त्यसको निर्णय गर्नेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार