झापा ५ मा खेल अर्कै छ, बिस्तारै थाहा हुनेछ - गोपाल पौडेल
गोपाल पौडेल राप्रपा निकट पत्रकार संगठन मिडिया नेपालका केन्द्रीय अध्यक्ष तथा राप्रपाको निर्वाचित केन्द्रिय सदस्य समेत हुनुहुन्छ । झापा ५ मा राप्रपाको तर्फबाट उम्मेदवार बनेका लक्ष्मीप्रसाद संग्रौलाको निर्वाचन प्रचारप्रसार अभियानमा अहिले वहाँ झापामै हुनुहुन्छ । पौडेलले २०७९ मा सम्पन्न स्थानीय निर्वाचनमा गौरादह नगरपालिकाबाट मेयर पदमा चुनाव लड्नु भएको थियो । प्रस्तुत छ वहाँ सँग पत्रकार सान नेपालले गरेको कुराकानी:

झापा ५ भन्ने बित्तिकै अहिले राष्ट्रिय अन्तराष्ट्रिय चासोको विषय छ । यस क्षेत्रमा तपाईंहरुको उपस्थिति कस्तो छ ?
यहाँ मात्रै होईन मुलुकभर नै हाम्रो उपस्थिति अघिल्ला वर्षको तुलनात्मक रूपमा फरक छ । झापाको कुरा गर्दा राप्रपाको बलियो संगठन भएको जिल्ला हो । झापा १ मा उर्जाशिल युवा हेमराज कार्की, क्षेत्र नं. २ मा स्वागत जी जस्तो एक बौद्धिक उम्मेदवार हामीले उठाएका छौँ । हाम्रो पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन झापा ३ मा निरन्तर रूपमा निर्वाचित नेता नै उम्मेदवार हुनुहुन्छ । झापा ४ मा एक कुशल कानुनविद भक्तिप्रसाद सिटौला उम्मेदवार हुनुहुन्छ । झापा ५ मा लक्ष्मीप्रसाद संग्रौला जस्तो एक ईमानदार समाजसेवी छवि भएको व्यक्तिलाई उम्मेदवार बनाएका छौँ । यसरी झापामा हामीले सबै क्षेत्रमा असल, इमानदार र बौद्धिक व्यक्तिहरुलाई उठाएर देशव्यापी रूपमा नयाँ सन्देश छरेका छौँ । यो चुनावमा हामी उत्साहित छौँ ।

तपाईंहरुका उम्मेदवार लक्ष्मीप्रसाद संग्रौलाले कति मत ल्याउलान् ?
झापा ५ मा खेल अर्कै छ, बिस्तारै थाहा हुनेछ । यथास्थितिमा अनुमान लगाउनु गलत हुन्छ । अवस्थामा धेरैले हामीलाई हल्का रूपमा लिएका थिए, तर अहिले अवस्था फेरिएको छ । गाउँ–टोल, चोक–चोक र घरदैलो अभियानमा जनताको सहभागिता बढ्दै गएको छ । विशेषगरी युवाहरू, पेशाकर्मी र परिवर्तन चाहने मतदाताहरू राप्रपाप्रति आकर्षित हुँदै गएका छन् । यो उपस्थिति केवल संख्यामा मात्र होइन, विश्वास र प्रतिबद्धतामा पनि देखिएको छ ।

के लक्ष्मीप्रसाद संग्रौलाले चुनाव जित्लान त ?
चुनाव जित–हार मतदाताले तय गर्ने कुरा हो । तर अहिलेको माहोल हेर्दा लक्ष्मीप्रसाद संग्रौलाले बलियो प्रतिस्पर्धा गरिरहेका छन् भन्ने कुरामा कुनै शंका छैन । उहाँ इमानदार, सरल र स्थानीय समस्यामा गहिरो बुझाइ भएको नेता हुनुहुन्छ । जनताले अब ठूला भाषणभन्दा काम गर्ने प्रतिनिधि खोजिरहेका छन्, र संग्रौला त्यो अपेक्षामा फिट हुनुहुन्छ । त्यसैले जितको सम्भावना मजबुत छ ।
तपाईंहरुले जित्ने आधार के छ त ?
हेर्दै जानुहोस् न । देखि हाल्नुहुन्छ नी ? तपाईंलाई यति चाहिँ भन्छु - 'राम थापा दमकमा हाम्रै पार्टीबाट जितेको मेयर हुनुहुन्छ । गौरिगञ्जमा बाबुराजा श्रेष्ठले एक कार्यकाल गाउँ पालिका प्रमुख जित्नु भएको हो । दुई दुई वटा पालिकामा बलियो रहेको दललाई कमजोर आकलन गर्न त मिल्दैन होला ।
केपी ओली र बालेन्द्र साहजस्ता हेभीवेट उम्मेदवारका बीचमा जित्ने भन्नु गलत होइन ?
राजनीतिमा “हेभीवेट” भन्ने कुरा सापेक्ष हुन्छ । चुनाव पार्टी वा व्यक्तिको नामले मात्र जितिँदैन, जनतासँगको सम्बन्ध, विश्वास र मुद्दाले जितिन्छ । केपी ओली र बालेन्द्र साह राष्ट्रिय स्तरका परिचित नाम हुन्, यसमा विवाद छैन । तर झापा–५ का मतदाताले आफ्नो क्षेत्रका समस्या बुझ्ने, सधैं साथमा रहने र जवाफदेही प्रतिनिधि खोजिरहेका छन् ।
त्यसैले हेभीवेटका बीचमा जित्ने कुरा गलत होइन, बरु जनताको चाहना बुझ्न सक्ने उम्मेदवारका लागि अवसर हो भन्ने हाम्रो बुझाइ छ ।
झापा–५ का मतदाताले राप्रपाबाट के अपेक्षा गरेका छन् जस्तो लाग्छ ?
झापा–५ का मतदाताले अब नारा होइन, स्पष्ट दिशा खोजिरहेका छन् । विकासका ठूला योजना कागजमै सीमित हुँदा जनता दिक्क भइसकेका छन् । रोजगारी, कृषि, शिक्षा र स्वास्थ्यमा ठोस काम गर्ने प्रतिनिधिको आवश्यकता छ । राप्रपाले यी विषयलाई प्राथमिकतामा राखेर स्पष्ट एजेन्डासहित अघि बढेको छ, जसले जनतामा आशा जगाएको छ ।
प्रश्न: राप्रपामाथि ‘पुरानो विचारधारा’ को आरोप लाग्ने गर्छ, यसलाई तपाईं कसरी हेर्नुहुन्छ ?
यो आरोपभन्दा बढी भ्रम हो । विचारधारा पुरानो–नयाँ हुँदैन, सान्दर्भिक वा असान्दर्भिक हुन्छ । देशको पहिचान, राष्ट्रियता, संस्कार र स्थायित्व जोगाउने कुरा आज झन् आवश्यक बनेको छ । राप्रपा समय अनुसार आफूलाई परिमार्जन गर्दै अघि बढेको पार्टी हो । आधुनिक सोच र राष्ट्रिय मूल्यलाई एकसाथ अघि बढाउन सक्ने क्षमता राप्रपामा छ ।
यदि लक्ष्मीप्रसाद संग्रौला निर्वाचित हुनुभयो भने झापा–५ ले के फरक पाउनेछ ?
सबैभन्दा ठूलो फरक भनेको जनतासँग नजिक रहने प्रतिनिधि पाउनु हो । संग्रौला निर्वाचित भएपछि सिंहदरबार झापा–५ मा आउँछ भन्ने अनुभूति जनताले पाउनेछन् । पहुँचका आधारमा होइन, आवश्यकता र न्यायका आधारमा काम हुनेछ । जनताको समस्या संसदमा पुर्याउने मात्र होइन, समाधानका लागि निरन्तर दबाब दिने प्रतिनिधि उहाँ बन्नुहुनेछ ।
प्रतिक्रिया