झापा ५ मा उठेको शालीन आँधी : मन्धरा चिमरिया पौडेलको उम्मेदवारी र नयाँ राजनीतिक सन्देश
✍️विश्व प्रकाश तिम्सिना
नेपाली कांग्रेस युवा नेता तथा झापा क्षेत्र नं-५ को स्थायी मतदाता
राजनीतिमा भीड देखाएर शक्ति प्रमाणित गर्ने चलन पुरानो भयो,अब विश्वास देखाएर नेतृत्व प्रमाणित गर्ने समय आएको छ। झापा क्षेत्र नं. ५ यतिबेला केवल एउटा निर्वाचन क्षेत्र मात्र होइन, देशको राजनीतिक बहसको केन्द्रबिन्दु बनेको छ। कारण:- नेपाली कांग्रेसले यहाँबाट अघि सारेकी एकल महिला उम्मेदवार, सामाजिक सेवामा जीवन अर्पण गरेकी, बिना दाग र बिना स्वार्थको पहिचान बनाएकी मन्धरा चिमरिया पौडेल।

जहाँ कतिपय उम्मेदवारहरू गाडीको ताँती र नाराबाजीको लस्करमा देखिन्छन्, त्यहीँ मन्धरा बिहानै २०–२५ जना समर्थकसँग टोलटोल पुग्छिन्। उनको अभियान कुनै प्रदर्शन होइन, संवाद हो। उनी चिया पसलको बहसमा होइन, आँगनको चौतारीमा भेटिन्छिन्। न त उनीसँग सुरक्षाको घेरा छ, न शक्ति प्रदर्शनको तमासा; छ भने केवल छरछिमेकीको विश्वास र वर्षौंको सामाजिक सेवाबाट कमाएको आत्मीयता।
राष्ट्रिय महिला अधिकार मञ्चदेखि अनाथ बालआश्रमसम्म नेतृत्व गर्दै आएकी उनले राजनीति केवल सत्ता प्राप्तिको बाटो होइन, न्याय प्राप्तिको माध्यम हुनुपर्छ भन्ने अभ्यासमै देखाएकी छन्। मतदातासँगको भेटमा उनी भन्छिन्:- “गाह्रो–साह्रोमा सम्झिनु होला, भोट आउँदैछ! म पनि उम्मेदवार छु।” यो वाक्य प्रचारको नारा होइन, सेवाभावको निरन्तरता हो।

देशको राजनीतिक परिदृश्यमा आज दुई ठूला प्रतीकात्मक नामहरू चर्चामा छन् । काठमाडौमा बालेन्द्र शाह र राष्ट्रिय राजनीतिमा केपी शर्मा ओली। ती दुवै आ–आफ्नो शैलीका प्रभावशाली पात्र हुन् र उम्मेदवार पनि झापा क्षेत्र नं-५ बाट नै दिएका छन तर प्रश्न यो हो—के राजनीति केवल व्यक्तित्वको करिश्माले चल्छ, कि चरित्रको निरन्तरताले? भीडले क्षणिक उत्साह दिन सक्छ, तर समाज बदल्न धैर्य, सम्वाद र संवेदनशीलता चाहिन्छ। झापा–५ मा मन्धराको उम्मेदवारी यही शालीन विकल्पको सन्देश हो।
नेपाली कांग्रेसले देशभर प्रत्यक्षतर्फ सीमित महिला उम्मेदवार अघि सार्दा झापामा मन्धरालाई रोज्नु संयोग होइन, सन्देश हो। “कोक्रो हल्लाउने महिलाका हातले देश पनि चलाउन सक्छन्”—उनको यो भनाइ भावुक वाक्य मात्र होइन, ऐतिहासिक यथार्थ हो। घर सम्हाल्ने हातले राष्ट्र सम्हाल्न नसक्ने भन्ने सोच आफैंमा असमानताको जड हो।
झापा केवल भूगोल होइन, चेतनाको भूमि हो। यहाँबाट विगतमा पनि राष्ट्रिय राजनीति प्रभावित भएको छ। यसपटक यदि मतदाताले सामाजिक सेवा, महिला नेतृत्व र शालीन राजनीतिलाई रोजे भने त्यो केवल एक सिटको जित हुनेछैन—त्यो नयाँ राजनीतिक संस्कारको उद्घोष हुनेछ।

व्यङ्ग्य गर्दै भन्नुपर्दा, यदि देश बदल्न गाडीको साइरन नै काफी हुन्थ्यो भने विकास धेरै अघि भइसक्थ्यो तर विकास त तब हुन्छ, जब प्रतिनिधि घरघर पुग्छ, सुन्छ र फेरि फर्केर काम गर्छ।
मन्धरा चिमरिया पौडेल नयाँ अनुहार मात्र होइनन्, नयाँ अभ्यासको सम्भावना हुन्। बिना खोट, बिना बाह्य प्रभाव, बिना अनियमितताको इतिहास बोकेकी उनी झापा–५ का मतदातालाई प्रश्न गरिरहेकी छन्—“के तपाईंहरू परिवर्तनको कुरा मात्र गर्नुहुन्छ, कि परिवर्तन रोज्नु पनि चाहनुहुन्छ?”
यो निर्वाचन केवल दलको प्रतिस्पर्धा होइन, दृष्टिकोणको परीक्षा हो। महिलालाई चुलोमा सीमित देख्ने मानसिकतालाई सदनसम्म पुर्याएर उत्तर दिने अवसर हो। समाजलाई सकारात्मक, संवेदनशील र उत्तरदायी राजनीतितर्फ मोड्ने क्षण हो।
झापा क्षेत्र नं. ५ का मतदाताले यदि यसपटक सामाजिक सेवाबाट खारिएको नेतृत्वलाई रोजे भने त्यो निर्णयले केवल झापा होइन, देशलाई सन्देश दिनेछ:- राजनीति हल्ला होइन, हल हो र त्यो हल खोज्नेहरूका लागि रुख चिन्ह केवल चुनाव चिन्ह होइन, विश्वासको प्रतीक पनि हो।
प्रतिक्रिया