जेष्ठ ०३ २०८३, आइतबार

सेतो कोट’ प्रतिको धारणा बदल्दै दमकको कुलिनरी फेस्टिभल

Ads


दमक, २ जेठ — सामान्यतः भान्सामा सीमित मानिने ‘सेफ’ पेशालाई सम्मानित र सिर्जनात्मक पेशाका रूपमा स्थापित गर्ने उद्देश्यसहित दमकमा आयोजित राष्ट्रिय कुलिनरी कम्पिटिसन तथा फूड फेस्टिभल चर्चाको केन्द्र बनेको छ।
नेपालसहित विभिन्न देशमा कार्यरत नेपाली सेफहरूको सहभागिता रहेको कार्यक्रममा पाककला केवल खाना पकाउने काम नभई संस्कृति, सिर्जना र देश चिनाउने माध्यम भएको सन्देश दिइएको थियो।
कार्यक्रममा सहभागी सेफहरूले नेपाली खानालाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउन आफूहरू निरन्तर लागिरहेको बताएका थिए। विदेशका होटल र रेस्टुरेन्टमा नेपाली स्वाद स्थापित हुँदै गएको उल्लेख गर्दै वक्ताहरूले अब नेपालभित्रै पनि सेफ पेशालाई सम्मानका साथ हेर्नुपर्ने धारणा राखे।
आयोजक अन्तर्राष्ट्रिय सेफ सोसाइटीका पदाधिकारीहरूले युवालाई डिग्री मात्र होइन, सीप पनि आवश्यक रहेको बताए। “सीप हुने व्यक्ति संसारको जुनसुकै ठाउँमा पनि अवसर सिर्जना गर्न सक्षम हुन्छ,” कार्यक्रममा जोड दिइएको थियो।
कार्यक्रममा पाककला प्रतियोगिता, विभिन्न खानाका स्टल तथा सांस्कृतिक प्रस्तुति राखिएको थियो। सहभागीहरूले नेपाली खानाको मौलिकता र पर्यटनसँग यसको प्रत्यक्ष सम्बन्धबारे चर्चा गरेका थिए।
होटल तथा पर्यटन क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूले नेपाली परिकारलाई अन्तर्राष्ट्रिय ब्रान्ड बनाउन राज्य र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएका छन्। दमकमा भएको यो कार्यक्रमले पाककला क्षेत्रलाई केवल रोजगारी नभई सम्मानित व्यवसायका रूपमा स्थापित गर्ने बहसलाई समेत बल दिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार