श्रावण १४ २०८३, बिहिबार

नगर अस्पतालमा आज ओपीडी सेवा बन्द हुने, आकस्मिक सेवा भने सञ्चालनमा


गौरादह, साउन १३ । नेपाल चिकित्सक संघ (एनएमए) ले देशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेसँगै गौरादह अस्पतालमा पनि आज (बुधबार) ओपीडी सेवा बन्द गरिएको छ।
अस्पताल प्रशासनले सूचना जारी गर्दै नेपाल चिकित्सक संघको साउन १२ गतेको प्रेस विज्ञप्तिअनुसार साउन १३ गते देशभर आकस्मिकबाहेकका सेवा बन्द गर्ने कार्यक्रम रहेकाले गौरादह अस्पतालको ओपीडी सेवा पनि बन्द रहने जनाएको हो।
यद्यपि, आकस्मिक (इमर्जेन्सी) सेवा भने नियमित रूपमा सञ्चालन हुने अस्पतालले स्पष्ट पारेको छ। ओपीडी सेवा बन्द हुँदा सेवाग्राहीमा पर्न जाने असुविधाप्रति अस्पताल प्रशासनले क्षमायाचना समेत गरेको छ।
नेपाल चिकित्सक संघले वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र दोषीमाथि कानुनी कारबाहीमा ढिलाइ भएको भन्दै विरोधस्वरूप देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा एक दिनका लागि बन्द गर्ने निर्णय गरेको जनाएको छ। संघले दोषीमाथि तत्काल कानुनी कारबाही, स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न तथा स्वास्थ्य संस्थामा हुने आक्रमण रोक्न सरकारसँग माग गरेको छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार