कार्तिक ०२ २०८३, आइतबार

सारथि युवा क्लबको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

 

गौरादह। सारथि युवा क्लब गौरादहको आयोजनामा शनिबार चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। गौरादह–३ स्थित क्लबको कार्यालयमा आयोजित कार्यक्रममा वक्ताहरूले क्लबले सामाजिक सेवाका क्षेत्रमा निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गरेका छन्।
कार्यक्रमका प्रमुख अतिथि गौरादह नगरपालिकाका नगर प्रमुख छत्रपति सुवेदीले संस्थालाई जीवन्त राख्न सञ्चालकहरूको सोच र दृष्टिकोण महत्त्वपूर्ण हुने बताए। संस्थाको नेतृत्व गर्ने व्यक्तिहरूको सही सोच र उद्देश्य भएमा मात्रै कुनै पनि संस्था दीर्घकालसम्म क्रियाशील रहन सक्ने उनको भनाइ थियो।
क्लबमा आबद्ध सदस्यहरूको आ–आफ्नो राजनीतिक दलप्रति आस्था हुन सक्ने भए पनि संस्थाका गतिविधि भने गैरराजनीतिक रहेको आफूले पाएको नगर प्रमुख सुवेदीले बताए। सामाजिक संस्थाहरूले राजनीतिक आस्थाभन्दा माथि उठेर समाजको हितमा काम गर्नुपर्ने सन्देश उनको भनाइमा झल्किएको थियो।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै गौरादह बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख भोजराज दाहाल, दर्पण कला चौतारीका अध्यक्ष प्रेम लावती, हिमालयन टाइगर क्लबकी अध्यक्ष निर्मला रिमाल, पर्दाफास मिडिया नेटवर्क प्रा.लि.का अध्यक्ष सान नेपाल, मानव उद्धार सेवा संस्थाका अध्यक्ष सुमन श्रेष्ठ, गौरादह जेसीजका अध्यक्ष ध्रुवचन्द्र अधिकारी, ज्येष्ठ नागरिक संघ गौरादहका अध्यक्ष भेषराज दाहाल, गौरादह उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वर खत्री, इलाका प्रहरी कार्यालय गौरादहका प्रमुख सानुराम कार्की तथा गौरादह–३ का वडाध्यक्ष दिलीप भण्डारीलगायतले शुभकामना व्यक्त गरेका थिए।
वक्ताहरूले सारथि युवा क्लबले समाजमा साँच्चिकै सारथि बनेर सेवाभावका साथ काम गर्दै आएको चर्चा गर्दै आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व बहन गर्दै मानवीय सेवा र सामाजिक रूपान्तरणका गतिविधिलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।


क्लबका अध्यक्ष गोविन्द कँडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा आफ्ना संक्षिप्त मन्तव्य राख्दै कँडेलले ४ वर्षको दौरानमा क्लबले गरेका महत्त्वपूर्ण कार्यहरू बारे चर्चा गरेका थिए । सारथि युवा क्लबको सुशासन र पारदर्शिताको सिद्धान्तको जगमा आफुलाई उभ्याउन सफल रहेको जिकिर गरे । कार्यक्रमको सञ्चालन क्लबका सचिव विक्रम थापाले गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार