भदौ २६ २०८३, शुक्रबार

गौरादहका बजार क्षेत्रमा सडक बत्ती जडानका लागि सोलार प्यानल जडान हुँदै

गौरादह । गौरादह नगरपालिकाले बजार क्षेत्रमा सडक बत्ती सञ्चालनका लागि सोलार प्यानल जडानको काम अघि बढाएको छ। नगरपालिकाका अनुसार पहिलो चरणमा बजार क्षेत्रलाई प्राथमिकतामा राखेर सडक बत्ती जडानको तयारी गरिएको हो।

हाल गौरादह नगरपालिका–१ स्थित डिपु बजार, स्कुलचौन बजार र ग्वालडुब्बा बजार क्षेत्रमा सडक बत्तीका लागि आवश्यक संरचना निर्माण तथा सोलार प्यानल जडानको काम अघि बढाइएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाका अनुसार यी क्षेत्रमा सञ्चालन हुन लागेको योजना गत आर्थिक वर्षमै तय भएको थियो। योजना गौरादह नगरपालिका र कोशी प्रदेश सरकारको ५०/५० प्रतिशत साझेदारीमा सञ्चालन भइरहेको छ। यसका लागि कुल ८० लाख रुपैयाँ बजेट विनियोजन गरिएको जनाइएको छ।

योजनाको ठेक्का प्रक्रिया सम्पन्न भइसकेको र कोशी प्रदेशको ऊर्जा मन्त्रालयमार्फत ठेक्का प्रक्रियाबाट काम अघि बढाइएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाका अनुसार चालु आर्थिक वर्षमा भने अन्य बजार क्षेत्रहरूमा समेत सडक बत्ती विस्तार गरिनेछ। बजार क्षेत्रमा सडक बत्ती जडान भएपछि रातिको समयमा आवागमन सहज हुनुका साथै बजार क्षेत्रको सुरक्षा र सौन्दर्यमा समेत सुधार आउने अपेक्षा गरिएको छ।

नगरपालिकाले सडक बत्ती जडानको योजनालाई क्रमशः अन्य बजार क्षेत्रमा विस्तार गर्दै लैजाने जनाएको छ।

May be an image of text

 

प्रतिक्रिया

सम्बन्धित समाचार