आज राष्ट्रिय शिक्षा दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदै
शिक्षा दिवसको मूल समारोह प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख उपस्थितिमा हुँदैछ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको अध्यक्षतामा राष्ट्रिय शिक्षा दिवस मूल समारोह समितिसहित विभिन्न उपसमिति गठन भएका छन् ।

राष्ट्रिय शिक्षा दिवस, २०८१ को अवसरमा उत्कृष्ट सार्वजनिक (सामुदायिक) तथा निजी लगानीका विद्यालय, प्राविधिक तथा व्यावसायिक तालिम परिषद्अन्तर्गतका प्राविधिक शिक्षालय, विश्वविद्यालयका उत्कृष्ट क्याम्पस र सामाजिक सङ्घसंस्थालाई राष्ट्रिय स्तरमा पुरस्कृत गरिने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।
यसैबीच, प्रधानमन्त्री ओलीले पिछडिएका वर्ग,क्षेत्र, लिङ्ग र जातजातिलाई शिक्षाको मूलधारमा समाहित गरी गुणस्तरीय शिक्षाको समान अवसरको वितरण गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले प्रदेशगत र स्थानीयगत शिक्षाका सबै तह एवम् अवसरमा हुने असमानता हटाई समान अवसर र लाभको सुनिश्चितता गर्नु अपरिहार्य रहेको उल्लेख गर्नुभएको छ ।

‘राष्ट्रिय शिक्षा दिवस, २०८१’ का अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले शिक्षा क्षेत्रका लागि बजेट बढाउँदै दिगो विकासका लक्ष्य हासिल गर्न र विद्यालय शिक्षा विधेयक, २०८१ लाई छलफलसहित पारित गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
प्रतिक्रिया