गोल्डेन सनराइज मा.वि. को ३१ औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न
झापा – झापाको प्रतिष्ठित शिक्षालय, गोल्डेन सनराइज मा.वि., ले आफ्नो ३१ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेको छ। २०५० सालमा स्थापित यस विद्यालयले आफ्नो ऐतिहासिक यात्रालाई प्रतिबिम्बित गर्दै बालबालिकाकै नेतृत्वमा विशेष कार्यक्रमको आयोजना गरेको थियो।

सांस्कृतिक विविधता झल्कने प्रस्तुति
आइतबार सम्पन्न एक दिवसीय भव्य समारोह विभिन्न आकर्षक सांस्कृतिक गतिविधिले भरिपूर्ण रह्यो। विद्यार्थीहरूद्वारा नाटक, परम्परागत तथा आधुनिक नृत्य, साङ्गीतिक प्रस्तुति लगायतका कार्यक्रम प्रस्तुत गरिँदा उपस्थित दर्शकहरू मन्त्रमुग्ध बने। कार्यक्रममा सान नेपाल द्वारा परिकल्पना गरिएको नाटक 'ओलाङ्पुर गाउँको कथा र सांगीतिक ब्याण्डका कलाकार द्वारा सांगीतिक प्रस्तुति तथा अभिभावक लक्षित लक्की ड्र समेत गरिएको थियो भने वर्ष उत्कृष्ट विद्यार्थीहरु तथा सदनगत उत्कृष्ट विद्यार्थीलाई पुरस्कार एवम् प्रमाणपत्र प्रदान गरिएको थियो ।

नगर प्रमुख सुवेदीको विशेष प्रशंसा
गौरादह नगरपालिकाका नगर प्रमुख छत्रपति सुवेदी प्रमुख अतिथिको रूपमा उपस्थित रहनुभएको कार्यक्रममा उहाँले विद्यालयको शैक्षिक तथा सामाजिक योगदानको उच्च मूल्याङ्कन गर्नुभयो। निजी क्षेत्रबाट सञ्चालित भए तापनि गोल्डेन सनराइजले समुदायमा पुर्याएको योगदान अतुलनीय रहेको उहाँको धारणा थियो।

"गोल्डेन सनराइजले गौरादहलाई शैक्षिक उचाइमा पुर्याएको मात्र होइन, समाजमा पनि सकारात्मक उदाहरण प्रस्तुत गरेको छ," नगर प्रमुख सुवेदीले भन्नुभयो।
उहाँले गौरादह नगरपालिकाले वडा नं. १, २, र ३ लाई बालमैत्री वडा घोषणा गर्न लागेको उल्लेख गर्दै, विद्यालयले बालबालिकाकै अगुवाइमा वार्षिकोत्सव आयोजना गरेर उत्कृष्ट उदाहरण प्रस्तुत गरेको बताउनुभयो।
नगर उपप्रमुख जलवर्षा राजवंशीले गोल्डेन सनराइ मा. वि. का हरेक कार्यक्रमलाई नजिकवाट निहाल्न पाएको उल्लेख गर्दै अतिरिक्त क्रियाकलाप क्षेत्रलाई यस बिद्यालयले मिसन र भिजनको रूपमा लिएको बताउनु भयो । आजकै कार्यक्रम हेर्दा बालबालिकाहरु कति जिम्मेवार भएर आ-आफ्नो प्रस्तुति गर्दैछन् भन्ने थाहा हुन्छ, वास्तवमा गोल्डेन सनराइज हिँडेको वाटोमा अन्य विद्यालय पनि हिड्ने हो भने समाज परिवर्तन हुन समय लाग्दैन।', बिबिधता युक्त समाजको मुल्यमान्यता अनुसार बिद्यालयहरु चल्न सक्नुपर्ने वहाँको धारणा थियोे ।
गोल्डेन सनराइजका विद्यार्थीहरू राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा स्थापित- यात्री
वरिष्ठ पत्रकार टिकाराम यात्री ले गोल्डेन सनराइजका विद्यार्थीहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा जिम्मेवार पदहरूमा कार्यरत रहेको उल्लेख गर्दै विद्यालयप्रतिको आभार व्यक्त गर्नुभयो।
"मैले प्राप्त गरेको शिक्षा यहीँबाट हो। यस विद्यालयले मलाई मात्र होइन, सयौँ विद्यार्थीलाई समाजमा अग्रणी स्थानमा स्थापित गरिसकेको छ," उहाँले भन्नुभयो।
३१ वर्षको गौरवशाली यात्रा – प्रधानाध्यापक कार्की
विद्यालयका प्रधानाध्यापक राजकुमार कार्की ले विद्यालयले ३१ वर्षको यात्रामा उल्लेखनीय सफलता हासिल गरेको उल्लेख गर्दै विद्यार्थीहरूको बहुपक्षीय विकासमा केन्द्रित शिक्षण पद्धति अपनाएको बताउनुभयो।
"हामी केवल किताबी ज्ञानमा सीमित छैनौं। खेलकुद, अतिरिक्त गतिविधि, र जीवनोपयोगी सीप सिकाउने अभियानमा समर्पित छौँ। विद्यार्थीहरू देश-विदेशमा नाम चम्काइरहेका छन्, जसले गौरादहलाई नै चिनाइरहेको छ," प्रधानाध्यापक कार्कीले भन्नुभयो।
विद्यालयका हरेक औपचारिक तथा अनौपचारिक कार्यक्रम विद्यार्थी स्वयंको नेतृत्वमा सञ्चालन गरिने परम्परा रहेको बताउँदै उहाँले नगरपालिकाले अघि सारेको बालमैत्री अवधारणालाई विद्यालयले पूर्ण रूपमा कार्यान्वयन गरिरहेको उल्लेख गर्नुभयो।
"हामी ज्ञान मात्र हस्तान्तरण गर्दैनौँ, विद्यार्थीको बहुपक्षीय क्षमता अभिवृद्धि गर्दै भविष्यका अग्रणी व्यक्तित्व निर्माण गर्ने ध्येय राख्छौँ।"
गोल्डेन सनराइज गौरादहको शैक्षिक गहना – निगेस नायाजु
भूतपूर्व विद्यार्थी संगठनका अध्यक्ष निगेस नायाजु ले विद्यालयको ३१ वर्षे यात्रालाई गौरवपूर्ण यात्रा भन्दै यसलाई गौरादह क्षेत्रकै उत्कृष्ट शिक्षालयका रूपमा स्थापित गराउन सफल भएको उल्लेख गर्नुभयो।
"गोल्डेन सनराइजका कार्यक्रमहरू विशिष्ट विशेषता बोकेका हुन्छन्। यहाँको शिक्षाले विद्यार्थीलाई सिर्जनशील, आत्मनिर्भर, र समाजका लागि प्रेरणादायी बनाउँछ। यही कारण विद्यालयले आफ्नो अलग पहिचान बनाउन सफल भएको छ," उहाँले भन्नुभयो।
उत्कृष्ट व्यवस्थापन र विद्यार्थीहरूको संलग्नता
विद्यालयका निर्देशक गणेश कुमार श्रेष्ठ को सभापतित्वमा सम्पन्न तथा शिक्षक प्रदिप पौडेलले स्वागत मन्तव्य राखेको कार्यक्रममा नगर उपप्रमुख जलवर्षा राजवंशी, नगर प्रवक्ता तथा गौरादह १ का वडाध्यक्ष नगेन्द्र भण्डारी, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरू, सामाजिक संघसंस्थाका प्रतिनिधिहरू, राजनीतिक तथा सामाजिक अगुवाहरू, पूर्वविद्यार्थी, विद्यार्थी, र अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रमको उत्कृष्ट व्यवस्थापन कक्षा ९ र ८ का विद्यार्थीहरू प्रतीक बराल, निर्विशा दाहाल, शिर्षकध्वज कार्की, भुमिका दंगाल, सामना ढुंगेल, लगायत प्राथमिक तहका स-साना विद्यार्थीहरूले गरेका थिए।
गोल्डेन सनराइज – गौरादहको शैक्षिक पहिचान
३१ औं वार्षिकोत्सवको भव्य सफलता यस विद्यालयको उत्कृष्ट व्यवस्थापन, सशक्त विद्यार्थी संलग्नता, र गुणस्तरीय शिक्षाको प्रमाण हो। शिक्षालाई व्यावहारिक, जीवनोपयोगी, र सृजनशील बनाउन केन्द्रित यस विद्यालयले आगामी दिनमा गौरादह क्षेत्रलाई अझ उचाइमा पुर्याउने विश्वास गरिएको छ।
प्रतिक्रिया