सुशासनबिना समृद्धि सम्भव छैन: माओवादी केन्द्र अध्यक्ष प्रचण्ड
कास्की – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा सुशासन कायम नगरी आर्थिक समृद्धि हासिल गर्न नसकिने बताएका छन्।
पोखरा महानगरपालिका–१ स्थित पुरानो टुँडिखेलमा आजदेखि सुरु भएको ऐतिहासिक टुँडिखेल तीज महोत्सव–२०८२ को तेस्रो संस्करण उद्घाटन गर्दै अध्यक्ष दाहालले आफू सरकारमा रहँदा सुरु गरेको सुशासन अभियानलाई निरन्तरता दिइरहेको उल्लेख गर्दै सबैको साथ र सहयोग अपरिहार्य रहेको बताए।

“हामी सबै खालका आर्थिक पछौटेपनको अन्त्य गरेर आर्थिक समृद्धिको नयाँ अभियान लिएर अगाडि बढिरहेका छौँ,” दाहालले भने, “देशमा समृद्धि ल्याउन सुशासन अपरिहार्य छ।”
उनले तीज पर्वलाई नेपाली महिलाको सम्मानसँग जोडिएको मौलिक पर्वका रूपमा वर्णन गर्दै यसलाई सांस्कृतिक पहिचानका रूपमा जगेर्ना गर्नुपर्नेमा जोड दिए।

महोत्सवको अवसरमा स्रष्टा गोविन्द कोइरालालाई सम्मान गरिएको छ भने शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका स्वर्गीय सिद्धी गौचनका परिवारलाई पनि विशेष सम्मान गरिएको छ।
इन्द्रेणी एकीकृत विकास समाजको आयोजनामा सुरु भएको महोत्सव आगामी भदौ १५ गतेसम्म सञ्चालन हुने आयोजक संस्थाका अध्यक्ष भानुभक्त अधिकारीले जानकारी दिए। महोत्सवमा दैनिक उपभोग्य सामग्री, कृषि उत्पादन, हस्तकला, लत्ताकपडा, बैंक तथा वित्तीय संस्था लगायतका १५० व्यापारिक स्टल राखिएका छन्। साथै, १२ वटा रेष्टुरेन्ट स्टल, बाल उद्यान तथा मनोरञ्जनका अन्य कार्यक्रम पनि रहनेछन्।

प्रतिक्रिया