एससिओ शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली चीन प्रस्थान
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा भाग लिन आज चीनको तियान्जिन प्रस्थान गरेका छन्।
२३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रस्थान गरेका ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, मुख्यसचिव एकनारायण अर्याललगायत उच्चपदस्थ अधिकारीहरूले बिदाइ गरे। नेपाली सेनाको टुकडीले सम्मान गारत अर्पण गरेको थियो।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले सेप्टेम्बर १ मा शिखर सम्मेलनलाई सम्बोधन गर्ने, सेप्टेम्बर २ मा चीनका उपराष्ट्रपति हान झेङसँग भेटवार्ता गर्ने तथा सेप्टेम्बर ३ मा बेइजिङमा हुने ८०औँ वार्षिकोत्सव कार्यक्रममा सहभागी हुने कार्यतालिका छ।
प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग तियान्जिनमा द्विपक्षीय भेटवार्ता गर्नेछन्। साथै, उनले रसियाका राष्ट्रपति भ्लादिमीर पुटिन, माल्दिभ्स, कम्बोडिया, लाओस र भियतनामका प्रधानमन्त्रीहरूसँग पनि छुट्टाछुट्टै भेटघाट गर्ने तय भएको छ।

भ्रमणमा प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्य, मन्त्रीहरू, सांसदहरू तथा उच्चस्तरीय सरकारी अधिकारीहरू समेत सहभागी छन्। ओली भदौ १८ गते स्वदेश फर्कने कार्यक्रम छ।
प्रतिक्रिया