राष्ट्रिय सभाको बैठक आज अपराह्न बस्दै
राष्ट्रिय सभा आज अपराह्न १५ः१५ बजे सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा बस्दैछ। बैठकमा सभाध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको पत्रको जानकारी दिनेछन्।
त्यसैगरी, विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘सङ्घीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी प्रतिवेदन’ सभा समक्ष पेस गर्नेछिन्। राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्नेछन्।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधि सभाबाट प्राप्त ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्ने कार्यक्रम छ।
आजै दुई संसदीय समितिको बैठक पनि बस्नेछ। कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र विधायन व्यवस्थापन समितिको बैठक बिहान ११ः३० बजे हुने जनाइएको छ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२’ सम्बन्धमा सरोकारवालासँग सैद्धान्तिक छलफल हुनेछ।
विधायन व्यवस्थापन समितिको बैठकमा ‘सङ्घीय निजामती विधेयक, २०८०’ को मस्यौदा प्रतिवेदनमा छलफल हुनेछ।

प्रतिक्रिया