फाल्गुण २८ २०८२, बिहिबार

अफगानिस्तानमा विनाशकारी भूकम्प : मृत्यु सङ्ख्या ८१२ नाघ्यो, उद्धार कार्यमा कठिनाइ

Ads

काबुल, अफगानिस्तान – भदौ १७
अफगानिस्तानको पूर्वी भागमा गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या ८१२ नाघेको पुष्टि भएको छ भने २,८०० भन्दा बढी व्यक्ति घाइते भएका छन्। भूकम्प आइतवार राति स्थानीय समय अनुसार मध्यराततिर गएको हो, जसको केन्द्रबिन्दु पाकिस्तानको जलालाबाद शहरबाट २७ किलोमिटर टाढा थियो। अमेरिकी भौगर्भिक सर्वे (USGS) अनुसार भूकम्पको तीव्रता ६.० म्याग्निच्युड मापन गरिएको हो।

प्रभावित क्षेत्रमा अझै परकम्पहरूको श्रृंखला जारी रहेको जनाइएको छ। भूकम्पका कारण कुनार र नन्गरहर प्रान्तहरूमा सबैभन्दा बढी क्षति भएको छ, जहाँ थुप्रै गाउँहरू पूर्णरूपमा ध्वस्त भएका छन्। कुनार प्रान्तमा मात्र करिब ६१० जनाको मृत्यु भएको तालिबान सरकारद्वारा जारी विवरणमा उल्लेख छ।

Ads

उद्धार कार्यमा भौगोलिक जटिलता ठूलो चुनौती बनेको छ। पहाडी भूभागमा पहिरोका कारण सडकहरू अवरुद्ध हुँदा स्थलमार्गमार्फत उद्धार कठिन बनेको छ। यसकारण प्रभावित क्षेत्रमा हेलिकप्टरमार्फत उद्धार गरिँदैछ। अहिलेसम्म ४० हेलिकप्टर उडानमार्फत करिब ४२० जनालाई उद्दार गरिएको बताइएको छ।

तालिबान सरकारले तत्काल अन्तर्राष्ट्रिय सहायता माग गरेको छ। संयुक्त राष्ट्रसंघ (UN) लगायत केही निकायहरूले प्राथमिक राहत सामग्री पठाउने तयारी गरिरहेका छन्। चीनले उद्धार कार्यमा सहयोग गर्न तत्परता जनाइसकेको छ।

Ads

यो भूकम्पलाई अफगानिस्तानको हालसम्मकै सबैभन्दा विनाशकारी भूकम्पमध्ये एक मानिएको छ। यसअघि सन् २०२२ मा आएको भूकम्पमा करिब एक हजार जनाको मृत्यु भएको थियो। भूकम्प, आर्थिक सङ्कट, र सीमित पूर्वाधारको कारण अहिलेको उद्धार प्रयास थप जटिल भएको हो।

मानवीय संकटको अवस्था झनै गम्भीर बन्दै गएकोले, स्थानीय प्रशासन तथा अन्तर्राष्ट्रिय समुदायबीच समन्वयात्मक सहयोग अपरिहार्य देखिन्छ। उद्धार टोली, स्वास्थ्य सेवा र राहत वितरणलाई सुदृढ बनाउनेतर्फ चाँडो कदम चाल्नु अहिलेको प्रमुख आवश्यकता बनेको छ।

Ads

© Pardapahs.com | २०८२ भदौ १७

प्रतिक्रिया

सम्बन्धित समाचार