नेपाल पछी फ्रान्सको अवस्था: लाखौं फ्रान्सेली सडकमा
फ्रान्सभरि फैलिएको सरकार विरोधी आन्दोलनले सडकहरू धुवाँ, जलिरहेको अवरोध र अश्रुग्यासले भरिएका छन् । करिब दुई लाख भन्दा बढी प्रदर्शनकारी सञ्झ्याल फुटाउँदै, सडक थुन्दै र आगजनी गर्दै बजेट कटौती र राजनीतिक अस्थिरताको विरोधमा उत्रिएका छन् ।

‘ब्लक एभ्रिथिङ’ (Block Everything) नामक अभियानले राष्ट्रपति इमानुएल म्याक्रोन र नयाँ प्रधानमन्त्री सेबास्टियन लेकोर्नुको पहिलो दिनमै ठूलो चुनौती खडा गरिदिएको छ ।
यद्यपि बुधबार मुलुक पूर्ण रूपमा अवरुद्ध गर्न सफल नभए पनि आन्दोलनले दैनिक जीवनका धेरै पक्षलाई ठप्प पार्यो र सयौं स्थानमा भिडन्त चर्कियो ।

सरकारले ८० हजार सुरक्षाकर्मी परिचालन गरे पनि सयौं पक्राउ परे, बसमा आगजनी, रेल सेवा अवरुद्ध र ट्राफिक अराजकता सिर्जना भयो । भित्री मन्त्रालयका अनुसार करिब २ लाख प्रदर्शनकारी सडकमा उत्रिएका थिए भने मजदुर संगठन सीजीटीले २.५ लाखको दाबी गरेको छ ।
४५० भन्दा बढी पक्राउ, सयौं हिरासत, डजनौं प्रहरी घाइते र करिब ८०० भन्दा बढी विरोध–कार्यक्रमहरू दर्ता भएका थिए ।

यो आन्दोलनले २०१८ को “यलो भेस्ट” आन्दोलनजस्तो स्तर नपुगे पनि म्याक्रोनको शासनकालमा बारम्बार देखिएको असन्तोष र हिंस्रक भिडन्तलाई पुनः उजागर गरेको छ ।
पेंशन सुधार, २०२३ मा प्रहरीले किशोरलाई गोली हानेर हत्या गरेपछि भएको दङ्गा लगायतका घटनापछि म्याक्रोनमाथि चर्को जनआक्रोश रहँदै आएको छ । हालैको संसद्को विश्वासमत गुमाएर फ्राँस्वा बैरु पदमुक्त भएपछि बनेको राजनीतिक संकटलाई यस आन्दोलनले झनै उग्र बनाएको छ ।
नयाँ प्रधानमन्त्री बनेका लेकोर्नुलाई पदभार ग्रहण गरेको पहिलो दिनमै आन्दोलनकारीहरूले सडकमा चुनौती दिएका छन् । अल-जजिराको सहयोगमा
प्रतिक्रिया