ब्रिटिश प्रधानमन्त्री कीर स्टार्मरले राष्ट्रपति जेलेन्स्कीलाई गरे न्यानो स्वागत
ब्रिटिश प्रधानमन्त्री कीर स्टार्मरले शनिबार युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई लन्डन आगमनमा न्यानो अँगालो दिए। जेलेन्स्की लन्डनमा बेलायती नेतासँग वार्ताका लागि पुगेका थिए। यसअघि, वाशिंगटनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा जेलेन्स्की र ट्रम्पबीच चर्काचर्की भएको थियो।
शुक्रबार ह्वाइट हाउसमा भएको विशेष बैठकमा राष्ट्रपति ट्रम्पले युक्रेनलाई दिँदै आएको समर्थन फिर्ता लिने धम्की दिएका थिए। तीन वर्षअघि रुसले युक्रेनमाथि आक्रमण गरेपछि अमेरिकाले युक्रेनलाई निरन्तर समर्थन दिँदै आएको थियो।
लन्डनमा जब जेलेन्स्की डाउनिङ स्ट्रीटस्थित प्रधानमन्त्रीको कार्यालय पुगे, त्यहाँ उपस्थित भीडले ताली बजाएर उनलाई स्वागत गर्यो। आइतबार युरोपेली नेताहरूको शिखर सम्मेलन अघि जेलेन्स्कीले बेलायती प्रधानमन्त्रीसँग युक्रेनका लागि शान्ति योजनाबारे छलफल गरेका छन्।
स्टार्मरले जेलेन्स्कीलाई सम्बोधन गर्दै भने, "मलाई आशा छ, तपाईंले बाहिरको तालीको आवाज सुन्नुभयो। यो संयुक्त अधिराज्यका जनताले तपाईंप्रति देखाएको समर्थनको संकेत हो ... हामी तपाईंको साथमा छौं।"
प्रधानमन्त्री स्टार्मरले युक्रेनलाई बेलायतको पूर्ण समर्थन रहेको बताउँदै भने, "हामी तपाईं र युक्रेनको पक्षमा उभिन तयार छौं, जति समय लागे पनि।"
युक्रेनको लागि समर्थन जनाउँदै अन्य युरोपेली नेताहरूले पनि वक्तव्य जारी गरेका छन्। ट्रम्पसँगको भेटपछि युरोप र अमेरिकाबीच युक्रेन युद्धको विषयमा फरक मत देखिएको छ। ट्रम्प सत्तामा फर्किएपछि परम्परागत साझेदारहरू—संयुक्त राज्य अमेरिका र युरोपबीच युद्धसम्बन्धी दृष्टिकोणमा मतभेद चर्किएको देखिन्छ।
प्रधानमन्त्री स्टार्मरले ट्रम्प र जेलेन्स्की दुवैसँग वार्ता गरे, जेलेन्स्कीले आइतबार राजा चार्ल्ससँग भेट गर्ने
ब्रिटिश प्रधानमन्त्री कीर स्टार्मरले शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की दुवैसँग वार्ता गरे। यसै साता, फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोंले पनि वाशिंगटनमा ट्रम्पसँग भेटवार्ता गरेका थिए।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले आइतबार बेलायती राजा चार्ल्स तृतीयसँग भेट गर्ने कार्यक्रम रहेको छ। ब्रिटिश पत्रिका ‘सन’ का अनुसार, यो भेट पूर्वी इंग्ल्याण्डको स्यान्ड्रिङ्घम दरबारमा हुनेछ।
प्रधानमन्त्री स्टार्मरसँगको भेटमा जेलेन्स्कीले भने, "म अत्यन्तै खुसी छु कि उहाँ (राजा चार्ल्स) ले भोलिको भेटका लागि सहमति जनाउनुभयो।"
बेलायत युक्रेनको कट्टर समर्थक रहँदै आएको छ, र राजा चार्ल्सले पनि यसअघि जेलेन्स्कीप्रति समर्थन जनाएका थिए। उनले रूसको अकारण आक्रमणको सामना गरिरहेका युक्रेनी जनताको "साहस र दृढ संकल्प" को प्रशंसा गरेका थिए।
यसैबीच, प्रधानमन्त्री स्टार्मरले ह्वाइट हाउस भ्रमणका क्रममा राष्ट्रपति ट्रम्पलाई राजा चार्ल्सबाट पठाइएको एक लिखित निमन्त्रणा हस्तान्तरण गरे। उक्त निमन्त्रणापत्र अनुसार, ट्रम्पलाई बेलायतमा औपचारिक राजकीय भ्रमणका लागि निमन्त्रणा गरिएको छ। यदि ट्रम्पले निमन्त्रणालाई स्वीकार गरे, भने उनी आधुनिक बेलायती इतिहासमा दुईवटा राजकीय भ्रमण गर्ने पहिलो निर्वाचित अमेरिकी राष्ट्रपति बन्नेछन्।
एजेन्सी
प्रतिक्रिया