वैशाख ०८ २०८३, मंगलबार

महाबिर भन्छन्: 'गौरादहका मान्छे मनकारी रहेछन्'

Ads

 

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा सामाजिक अभियन्ता डा. महावीर पुन हाल आफ्नो आत्मकथामा आधारित पुस्तक “महावीर पुन: जीवन र प्रेरणा” को बिक्री तथा प्रचार अभियानका साथ देश दौडाहामा छन्। यसैक्रममा आज उनी झापाको गौरादह आइपुगेका छन्, जहाँ स्थानीय संघ–संस्थाबाट पाएको सहयोग र ऐक्यबद्धता उल्लेखनीय बनेको छ।

Ads

दमकको बसाइमा अपेक्षा गरेअनुसारको साथ नपाएको भन्दै सामाजिक सञ्जालमार्फत सार्वजनिक गुनासो गरेका पुनलाई गौरादहमा भने भिन्न अनुभव मिलेको देखिएको छ। सारथि युवा क्लब, लायन्स क्लब गौरादह, लायन्स क्लब गौरादह युनाइटेडलगायतका संघ–संस्थाले संयुक्तरूपमा पुनलाई आत्मीय स्वागत गर्दै उनको अभियानमा ऐक्यबद्धता जनाएका छन्।

गौरादहको विभिन्न स्थानमा पुस्तक बिक्रीमा सक्रिय देखिएका पुनलाई उक्त संस्थाहरूले सहकार्यपूर्वक कार्यक्रम आयोजना गर्दै सहयोग गरेका छन्। पुस्तक खरीदमार्फत स्थानीय बासिन्दाहरूले पनि यस सेवामूलक अभियानलाई साथ दिइरहेका छन्।

Ads

सारथि युवा क्लबले कार्यक्रम व्यवस्थापनदेखि जनसम्पर्कसम्मको संयोजनमा अग्रसर भूमिका खेलेको छ भने लायन्स क्लब गौरादह र लायन्स क्लब गौरादह युनाइटेडले संस्थागत तहमा अभियानको समर्थन र क्रियाशील सहभागिता जनाएका छन्।

डा. पुनले गौरादहको सकारात्मकता र सहयोगी वातावरणको खुलेर प्रशंसा गरेका छन्। उनले भनेका छन्, “गौरादहले देखाएको आत्मीयता र साथले अभियानलाई नयाँ ऊर्जा मिलेको छ। यो केवल पुस्तक बिक्री होइन, वैज्ञानिक चेतना, नवप्रवर्तन र आत्मनिर्भरताको साझा अभियान हो।”

Ads

उनको अनुरोध छ—गौरादहबासी तथा सम्पूर्ण संघसंस्थाहरूले सम्भव भएसम्म कम्तीमा एक प्रति पुस्तक खरिद गरी अभियानमा हातेमालो गर्न सकून्। यदि कसैले आफ्नै स्थानमा पुनलाई निम्त्याएर कार्यक्रम आयोजना गर्न चाहन्छ भने सम्पर्क गर्न पनि आग्रह गरिएको छ।

महावीर पुनको सरल जीवन र उदात्त सोचको यात्रालाई गौरादहले आज जसरी आत्मसात् गर्‍यो, त्यो समग्र समाजका लागि प्रेरणाको श्रोत बन्न सक्छ। विज्ञान, शिक्षा र सामाजिक नवप्रवर्तनका सारथी पुनको साथमा गौरादह अब आफूलाई पनि यो यात्राको सारथी बनाइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार