झुम्का कारागारमा चार दिनमा तीन कैदीको मृत्यु, ५०० भन्दा बढीलाई उच्च ज्वरो
सुनसरीको झुम्का कारागारमा चार दिनको अन्तरमा तीन कैदीबन्दीको मृत्यु भएको छ। कारागारभित्र हाल करिब ५०० भन्दा बढी कैदीबन्दी उच्च ज्वरोले पीडित रहेका छन्। त्यस्तै, करिब पाँच सयकै हाराहारीमा दीर्घ रोगी पनि भएकाले स्थिति गम्भीर बनेको छ।
बुधबार साँझ सप्तरीका ४६ वर्षीय जलेश्वर यादवको ज्वरोका कारण निधन भयो। यादवलाई अक्सिजन लेभल अचानक घटेपछि जिल्ला अस्पताल इनरुवा पुर्याइए पनि बचाउन सकिएन। उनी जर्वरजस्ती करणी मुद्दामा वैशाखदेखि पुर्पक्ष कैद भोगिरहेका थिए।

यसअघि आइतबार सागर राई (२४, धरान) र **रामदेव उराँव (५२, गढी गाउँपालिका)**को मृत्यु भएको थियो। राई किड्नी समस्या भएका लागू औषध मुद्दाका कैदी थिए भने उराँव दम रोगी रहेर २५ वर्षको सजाय काटिरहेका थिए।
कारागार प्रशासनका अनुसार दुई साताअघि थोरै कैदीमा सुरु भएको ज्वरो अहिले ठूलो संख्यामा फैलिएको छ। अहिले १३ जना सिकिस्त बिरामीलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगिएको छ। बुधबार मात्रै स्वास्थ्यकर्मीको टोलीले ५० जनामा कोरोना परीक्षण गर्दा सबै नेगेटिभ र ५० मध्ये १ जनामा डेंगु पोजिटिभ पाइएको छ।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रका अनुसार बिरामी अवस्था गम्भीर भएकाहरूलाई तत्काल ठूला अस्पतालमा रेफर गर्ने तयारी गरिएको छ। रोग नियन्त्रणका लागि जिल्ला अस्पताल, प्रदेश स्वास्थ्य कार्यालय र विश्व स्वास्थ्य संगठन (WHO) को टोली परिचालन गरिएको छ।
झुम्का कारागारमा हाल १ हजार ७९८ कैदीबन्दी रहेका छन्, जसमा ठूलो संख्यामा दीर्घ रोगी छन्। कोशी प्रदेशका अन्य कारागारबाट मासिक करिब २० जनासम्म दीर्घ रोगीलाई झुम्का सारिने भएकाले यहाँ दीर्घ रोगीको संख्या बढी छ।

प्रतिक्रिया