जेष्ठ २२ २०८३, शुक्रबार

आपूर्ति शृङ्खला खल्बलिन नदिन निकासी पैठारी सङ्घको आग्रह

Ads

नेपाल समुद्रपार निकासी पैठारी सङ्घले आपूर्ति शृङ्खला सहज बनाउन र अत्यावश्यक वस्तुको अभाव हुन नदिन आग्रह गरेको छ। शुक्रबार जारी गरिएको प्रेस विज्ञप्तिमा सङ्घले सदस्य तथा गैरसदस्य सबै व्यवसायीलाई व्यावसायिक कर्तव्यबोधका साथ अघि बढ्न अपिल गरेको हो।

सङ्घका महासचिव जयन्तकुमार अग्रवालले निषेधाज्ञा र कफ्र्यूका बेला औषधि, खाद्यान्न, दूध, पानी, तरकारी, पेट्रोलियम पदार्थ जस्ता अत्यावश्यक वस्तुको आपूर्ति सुनिश्चित गर्न र सम्बन्धित निकायले सहजीकरण गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले गुणस्तरीय सामान नियमित आपूर्ति गरी बजारमा अभाव सिर्जना हुन नदिन व्यवसायीलाई हिम्मतपूर्वक लाग्न आग्रह गर्नुभएको छ।

Ads

विज्ञप्तिमा निजी क्षेत्र अर्थतन्त्रको प्रमुख चालक शक्ति भएकाले भयमुक्त वातावरणमा व्यवसाय सञ्चालन हुन नसकेमा थप समस्या उत्पन्न हुने चेतावनी दिइएको छ। व्यवसाय, उद्योग र प्रतिष्ठानमाथि भएका तोडफोड तथा आगजनीका घटनाले उद्यमीलाई भयभीत बनाएको भन्दै सङ्घले त्यसले दीर्घकालीन रूपमा स्वदेशी तथा विदेशी लगानी प्रभावित गर्ने ठहर गरेको छ।

सङ्घले युवा पुस्ताले चाहेको सुशासन, वाक स्वतन्त्रता, व्यवसाय गर्ने स्वतन्त्र अधिकार, लगानी प्रवर्द्धन र रोजगारी सिर्जना गर्न शान्ति सुरक्षा अपरिहार्य रहेको उल्लेख गर्दै सरकार र सरोकारवालालाई तत्काल पहल गर्न आग्रह गरेको छ।

Ads

त्यस्तै, सङ्घले देशमा सुशासन र समृद्धिको यात्रालाई अघि बढाउन समन्वय र सहकार्यका लागि सदैव तयार रहने प्रतिबद्धता प्रकट गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार