कोशी र बाँकेसहित विभिन्न स्थानमा भारी वर्षा, अझै दुई–तीन दिन प्रभाव रहने
२९ भदौ, काठमाडौं । नेपालमा अहिले मनसुन सक्रिय बन्दै गएको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहे पनि अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुको प्रभावले देशका विभिन्न स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
गएराति कोशी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा भएको छ। पछिल्लो मापनअनुसार झापाको केचनामा २४ घण्टामा १२४.८ मिलिमिटर, दमकमा ९२.८ मिलिमिटर र दिङ्गलामा ९४.६ मिलिमिटर वर्षा भएको छ। उदयपुरको गाइघाटमा एक घण्टामै ५४.६ मिलिमिटर वर्षा मापन भएको छ, जसलाई भारी वर्षा मानिन्छ।

यसैगरी बाँकेको नौबस्ता, अर्घाखाँचीको सिद्धारा, रङ्सिङ, सिराहाको गोलबजार, रुपनीबजार लगायतका स्थानमा पनि उल्लेख्य वर्षा भएको विभागले जनाएको छ।
वरिष्ठ मौसमविद शान्ति कँडेलका अनुसार अहिलेको वर्षा अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुको प्रभावले भएको हो। “रातिदेखि वर्षाको गतिविधि बढेको छ। कोशी प्रदेशमा भारीदेखि धेरै भारी वर्षा भएको देखिएको छ। आगामी दिनमा मधेश र लुम्बिनी प्रदेशमा पनि वर्षा बढ्ने सम्भावना छ,” उनले भनिन्।

कँडेलका अनुसार मनसुनको न्यूनचापीय रेखा क्रमशः उत्तरतर्फ सरिरहेकाले आगामी दुई–तीन दिन वर्षाको गतिविधि अझै बढ्ने अनुमान छ। तर, वर्षा एकनास नपरी कतिपय क्षेत्रमा मात्रै ठूलो पानी पर्ने सम्भावना रहेको उनले बताइन्।
प्रतिक्रिया