चेस खेलाडीहरूको माग : नेपाल बुद्धिचाल महासंघको कार्यसमिति विघटन होस्
काठमाडौं । नेपालका चेस खेलाडीहरूले अनियमितता, अपारदर्शिता र गैरजिम्मेवारीपूर्ण काम गरेको आरोप लगाउँदै नेपाल बुद्धिचाल महासंघको वर्तमान कार्यसमिति विघटन गर्न माग गरेका छन्।
आइतबार थापाथली पार्क चेस क्लबमा पत्रकार सम्मेलन गर्दै नेपाल च्याम्पियन रूपेश जैसवाल, सुश्रुत दाहाल, पुरुषोत्तम चौलागाई र आशिष फुँयालले महासंघले आर्थिक अपारदर्शिता, अन्तर्राष्ट्रिय सहभागितामा मनपरी र योग्य खेलाडीमाथि अन्याय गरेको आरोप लगाए। उनीहरूले चेस ओलम्पियाडमा नेपाली खेलाडी किन सहभागी हुन पाएनन् भन्ने विषयमा एक वर्षअघि छानबिन हुने भनिए पनि अहिलेसम्म रिपोर्ट नआएको स्मरण गराउँदै, फिडेबाट आएको सहयोग रकमसमेत पारदर्शी नभएको दाबी गरे।

खेलाडीहरूको भनाइमा महासंघको गतिविधि चार जनामात्र रहेको सचिवालयले चलाउने गरेको र कतिपय सदस्यलाई समेत जानकारी नहुने अवस्था छ। खेलाडीहरूले पटक–पटक गरेको पत्राचारलाई महासंघले बेवास्ता गर्दै आएको र योग्य खेलाडीलाई षड्यन्त्रपूर्वक बाहिर राखिएको भन्दै उनीहरूले असन्तुष्टि जनाए।
रुसमा भएको प्रथम बुद्धिस्ट अन्तर्राष्ट्रिय चेस र कजाखस्तानमा सम्पन्न फिडे वल्र्ड क्याडेट च्याम्पियनसिपमा योग्य खेलाडीलाई बेवास्ता गर्दै मापदण्डबिना सहभागिता गराइएको भन्दै उनीहरू आन्दोलित बनेका हुन्। यसबारे थापाथली पार्क चेस क्लब, अखिल नेपाल बुद्धिचाल महासंघ, अन्तर्राष्ट्रिय आर्बिटर ज्ञानेन्द्र खाइजुलगायतले पनि आलोचना गरेका छन्।

राष्ट्रिय च्याम्पियन रूपेश जैसवालले आफूलाई जानै पर्नुपर्ने प्रतियोगितामा अध्यक्ष हेराकाजी महर्जनले षड्यन्त्रपूर्वक वञ्चित गरेको दाबी गरे। अर्का खेलाडी पुरुषोत्तम चौलागाईले प्रतियोगिताबाट ५ प्रतिशत रकम महासंघले उठाउने तर त्यसको हिसाब नदेखाउने गरेको आरोप लगाए। उनले खेलाडीभन्दा अफिसियलको संख्या बढाइएपछि हंगेरीको भिसा नै नपाएको उदाहरणसमेत दिए।
खेलाडीहरूले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई छानबिन गर्न र वर्तमान कार्यसमिति विघटन गर्न आग्रह गरेका छन्। उनीहरूको भनाइमा महासंघले क्यालेन्डर नबनाउनु, कार्यविधि नअपनाउनु र आफैं अनुकूल व्याख्या गरेर खेलाडी छान्ने प्रवृत्तिले नेपाली चेसलाई नै प्रभावित पारेको छ।

महासंघका अध्यक्ष हेराकाजी महर्जन हाल रुसमा र महासचिव धरम लामा कजाखस्तानमा रहेका छन्। अध्यक्ष आफैं प्रतियोगितामा सहभागी रहेको र महासंघका केही पदाधिकारीले मिलेर खेलाडीमाथि अन्याय गर्दै आएको खेलाडीहरूको आरोप छ।
प्रतिक्रिया