श्रावण ०५ २०८३, मंगलबार

गाजामा संघर्षविरामपछि लाखौं प्यालेस्टिनी घर फर्किँदै

Ads

२६ असोज, काठमाडौं। इजरायल र हमासबीच भएको संघर्षविराम लागू भएपछि गाजाबाट विस्थापित लाखौं प्यालेस्टिनीहरू आफ्ना भग्न घरतर्फ फर्किन थालेका छन्।

शुक्रबार दिउँसोसम्म इजरायलले गाजामाथि तीव्र आक्रमण जारी राखेको थियो। तर दिउँसो संघर्षविराम लागू भएपछि इजरायली सेना क्रमशः फिर्ता हुन थालेको र शनिबारदेखि ठूलो संख्यामा प्यालेस्टिनीहरू पैदलै गाजा सिटी र आसपासका क्षेत्रमा फर्किन थालेका हुन्।

Ads

गाजा सिभिल डिफेन्सका प्रवक्ता महमूद बसालका अनुसार, संघर्षविराम लागू भएको केही घण्टामै करिब दुई लाख मानिस उत्तरी गाजातर्फ फर्किइसकेका छन्।

गाजा सिटीको शेख रदवान डिस्ट्रिक्टका बासिन्दा इस्माइल जायदा ती दुर्लभ व्यक्तिमध्ये एक हुन्, जसको घर दुई वर्ष लामो युद्धमा पनि बाँकी रह्यो।
“अल्लाहको कृपा हो, मेरो घर अझै उभिएको छ,” जायदा भन्छन्, “तर वरिपरिका सबै घर ध्वस्त भएका छन्, पूरा डिस्ट्रिक्ट नष्ट भएको छ।”

Ads

त्यसैगरी मेहदी साकला आफ्नो परिवारसहित ज्यान जोगाउन भागेका थिए। अहिले उनी फर्कँदै भन्छन्, “घर त छैन, तर फर्कन पाउँदा खुसी छौं — चाहे त्यहाँ भग्नावशेष मात्र किन नहोस्।”

गाजाको दोस्रो ठूलो शहर खान यूनिसमा पनि यस्तै दृश्य देखिएको छ।
त्यहाँ फर्किएकी फातमा रादवान भन्छिन्, “केही पनि बाँकी छैन। केही कपडा, काठ र भाँडाकुँडाका टुक्रा मात्र छन्।”

Ads

धेरैजना आफ्ना मरेका परिवारजनका अवशेष खोज्दै मलबामै हिँडिरहेका छन्। अहम अल बरिमले आफ्नै घरको भग्नावशेषबाट भेटिएको काठको बलो बालेर खाना पकाउँदै जीवन पुनः सुरु गर्न खोजिरहेका छन्।

गाजा सिभिल डिफेन्स एजेन्सीका अनुसार, इजरायली सेना र बख्तरबन्द सवारीसाधनहरू अहिले गाजा सिटी र खान यूनिसबाट फिर्ता भइरहेका छन्।

तर इजरायलले प्यालेस्टिनीहरूलाई सेनाको गतिविधिमा हस्तक्षेप नगर्न चेतावनी दिएको छ। इजरायली अधिकारीका अनुसार, सेना अहिले पनि “अपरेसनल पोजिसन मिलाउने” क्रममा रहेको छ।

हमासद्वारा सञ्चालित आन्तरिक मन्त्रालयले भने इजरायली सेना फिर्ता भएका क्षेत्रमा आफ्ना सुरक्षा बल पठाइएको जनाएको छ।

संघर्षविरामसँगै इजरायलले शनिबारदेखि संयुक्त राष्ट्रसंघका राहत टोलीहरूलाई गाजामा प्रवेश अनुमति दिएको छ।
जोर्डन र इजिप्टले १ लाख ७० हजार मेट्रिक टन राहत सामग्री पठाउने तयारी गरिरहेका छन्।

दुई वर्ष लामो युद्धका क्रममा इजरायलले गाजामा खाद्यान्न र औषधि आपूर्तिमा कडा प्रतिबन्ध लगाएको थियो, जसका कारण हजारौं मानिस भोकमरी र कुपोषणका शिकार बनेका थिए।

संघर्षविरामपछि पनि अवस्था सामान्य छैन।
संयुक्त राष्ट्रसंघका मानवीय सहायता कार्यक्रमका प्रमुख टम फ्लेचरका अनुसार, हालसम्म गाजामा जम्मा २० प्रतिशत मात्र राहत सामग्री पु¥याउन सकिएको छ।

???? संघर्षविरामले युद्धको अन्त्य होइन, अस्थायी शान्तिको सास दिएको छ। गाजाका लाखौं नागरिक अझै भग्नावशेषमै जीवन पुनः सुरु गर्ने प्रयासमा छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार