दुई वर्षअघिको घटनाको अन्त्य दुःखद रूपमा
दुई वर्षअघि सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत अध्ययनका लागि इजरायल पुगेका विपिन जोशी हमास लडाकुको आक्रमणमा परेका थिए। सन् २०२३ को अक्टोबर ७ मा गाजाबाट प्रवेश गरेका लडाकुहरूले इजरायलका विभिन्न क्षेत्रमा आक्रमण गर्दा नेपाली विद्यार्थीसमेत मारिएका थिए।
उक्त आक्रमणमा १० नेपाली विद्यार्थीको ज्यान गएको थियो भने विपिन जोशी बन्धक बनाइएका थिए। दुई वर्षसम्म उनको अवस्था अज्ञात रह्यो। तर हालै इजरायल र हमासबीचको युद्धविरामपछि बन्धकहरूको अवस्थाबारे भएको पुष्टि क्रममा विपिनको मृत्यु भएको प्रमाणित भएको हो।

इजरायलको द नेशनल सेन्टर अफ फरेन्सिक मेडिसिनले गरेको फरेन्सिक रिपोर्टमा विपिनको टाउकोमा गोली लागेर मृत्यु भएको पुष्टि गरिएको छ। त्यसैले मृत्युको कारण स्पष्ट भइसकेकाले नेपालमा थप पोष्टमार्टम नगर्ने निर्णय परिवारले गरेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।
तिहारको बेला विपिनको शव घर आइपुग्दा जोशी परिवार शोकमा डुबेको छ।
‘बहिनी पुष्पा यसपाली भाइटीकामा दाजुसँग भेट हुने आशामा थिइन्,’ परिवारका सदस्य किशोर जोशीले भने, ‘तर लक्ष्मीपूजाका दिन विपिनको शव घर आइपुग्दा सारा परिवार मौन भयो।’

बहिनी पुष्पाले भाइको निधनको पुष्टि भएपछि भाइटीकाका लागि तयार पारिएका सयपत्री फूलहरू उखेलेकी थिइन्।
प्रतिक्रिया