इटहरी शाखा अधिकृत सस्मिता लुइँटेल ६३ दिनदेखि बेपत्ता, लाखौँ ऋण फिर्ता नगरेको उजुरी
इटहरी, ३ जेठ—सुनसरी इटहरी उप–महानगरपालिकाकी शाखा अधिकृत सस्मिता लुइँटेल ६३ दिनदेखि कार्यालयमा अनुपस्थित छन् । लाखौँ रुपैयाँ सापटी लिएर फिर्ता नगरेको आरोपमा स्थानीय र झापादेखि सुनसरीसम्मका दर्जनौँ व्यक्तिले प्रहरीमा उजुरी दिएका छन्।
इटहरी उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. मीनबहादुर भट्टराईले लुइँटेलले विदाको निवेदन त दिएका भए पनि स्वीकृत नभएपछि कार्यालयमा नआएको बताए। “६३ दिनदेखि अनुपस्थित छिन् । अन्य विषय थाहा भएन,” उनले भने।
प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार इलाका प्रहरी कार्यालय इटहरीमा २० लाख र बेलबारीमा थप उजुरी दर्ता भइसकेको छ। “एक उजुरी हाम्रो क्षेत्रमा परेकोले छानबिन जारी छ, अर्को उजुरी बेलबारी पठाएका छौं,” भण्डारीले जानकारी दिए।
उजुरी दिनेमा झापा अर्जुनधारा–८ की तुलासा प्रधानले रु. २० लाख फिर्ता नपाएको र कुमारी भण्डारीले रु. ९ लाख तथा इटहरी लबीपुरका व्यवसायी विपिन भट्टराईले रु. २४ लाख फिर्ता नपाएको उल्लेख गरेका छन् । स्वास्थ्य चौकी खनारका विकास पौडेलसँग लिएको रु. ४३५ हजार फिर्ता नगरेको प्रमाण पनि उजुरीमा समावेश छ।
सस्मिताले झापाको अर्जुनधारा नगरपालिकाबाट गत भदौ ६ गते इटहरी उप–महानगरपालिकामा सरुवा भएकी थिइन् । प्रायः व्यापारी, ठेकेदार र सर्वसाधारणसँग साढे छ करोड रुपैयाँभन्दा बढी सापटी लिएर फरार भएको चर्चा रहेको छ।
प्रहरीले उजुरीका आधारमा द्रुत छानबिन गरी कानूनी कारबाही अघि बढाउने तयारी गरेको जनाएको छ ।
प्रतिक्रिया