श्रावण १६ २०८२, शुक्रबार

चार वर्षमा चट्याङबाट दुई सय ३७ जनाको ज्यान गयो

देशका सबैजसो क्षेत्र चट्याङको जोखिममा छन् ।
Ads

 नेपालमा पछिल्लो चार वर्षमा चट्याङबाट दुई सय ३७ जनाको ज्यान गएको छ । नौ सय आठ जना घाइते भएका छन् । देशका सबैजसो क्षेत्र चट्याङको जोखिममा छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव रोशनीकुमारी श्रेष्ठले नेपालमा झापा, उदयपुर र मकवानपुर जिल्ला चट्याङको उच्च जोखिममा रहेका बताउनुभयो ।

Ads

उहाँका अनुसार २०७८ साउनदेखि २०८२ जेठ ५ गते हिजोसम्मको तथ्याङकमा चट्याङका एक हजार एक सय १८ वटा घटना भएका छन् । एक हजार ६ सय ७ परिवार प्रभावित बनेका छन् ।

विगत चार वर्षमा कोशी प्रदेशमा चट्याङका दुई सय ९५ वटा घटना हुँदा ५१ जनाको ज्यान गएको र ८४ जना घाइते भएका उहाँले जानकारी दिनुभयो । त्यस्तै कोशीमा तीन सय ६६ घर प्रभावित बनेका छन् । कोशीमा चट्याङका कारण एक करोड ६० लाख ४५ हजार बराबरको भौतिक क्षति भएको छ ।

Ads

प्राधिकरणका अनुसार लुम्बिनी प्रदेशमा चार वर्षमा एक सय ८० वटा चट्याङका घटना हुँदा ५४ जनाको ज्यान गएको छ भने तीन करोड ४९ हजार मूल्य बराबरको भौतिक क्षति भएको छ ।

लुम्बिनीमा दुई सय ७६ परिवार चट्याङबाट प्रभावित भएका छन् । सहसचिव श्रेष्ठका अनुसार सुदूरपश्चिममा ३५, मधेशमा २७, बागमतीमा २५, गण्डकीमा २४ र कर्णालीमा २१ जनाले ज्यान गुमाएका छन् ।

प्राधिकरणका अनुसार कर्णालीमा दुई सय सात, सुदूरपश्चिममा एक सय ५८, गण्डकीमा ८४, बागमतीमा ८२ र मधेसमा २८ जना घाइते भएका छन् ।

चट्याङलाई रोक्न नसकिने तर यसबाट हुनसक्ने क्षति ८० प्रतिशतसम्म न्यूनीकरण गर्न सकिने सहप्राध्यापक सिग्देलको भनाइ छ । सचेतना नै चट्याङबाट हुनसक्ने क्षति न्यूनीकरणको सबैभन्दा प्रभावकारी उपाय भएको उहाँले बताउनुभयो ।

सर्वेक्षणले ८० प्रतिशत मानवीय क्षति कामकाजी मानिस खुला स्थानमा जाँदा भएको पाइएको पनि उहाँले जानकारी दिनुभयो ।

खेतमा काम गर्ने, घाँस दाउरा गर्ने र गाईवस्तु चराउनेलगायतका काम बिहान अर्थात् मध्यान्ह अगाडि नै गरिसक्ने र मेघगर्जनका बेला खुला ठाउँमा नजाने हो भने मानवीय क्षति न्यूनीकरण हुने उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार