धान खरिद गर्दा किसानलाई ठग्न पाइदैन - नगरप्रमुख सुवेदी
गौरादह, झापा, २०८२ जेठ १६ — नेपाल कृषि प्रधान देश हुँदाहुँदै पनि कृषकले आफ्नो पसिनाको उचित मूल्य नपाइरहेका बेला गौरादह नगरपालिकाले एक अपिल सार्वजनिक गरेको छ। नगरप्रमुख छत्रपति सुवेदीद्वारा जारी विज्ञप्तिमा कृषिजन्य उत्पादनको न्यूनतम समर्थन मूल्यभन्दा कम मूल्यमा खरिद नगर्न व्यवसायीहरूलाई आग्रह गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, 'कृषकको मिहिनेतको कदर गर्नु हाम्रो दायित्व हो। न्यूनतम मूल्यभन्दा कममा खरिद गर्नु भनेको कृषकप्रति अन्याय गर्नु हो र यसले देशको खाद्य सुरक्षामा असर पुर्याउन सक्छ।'
नेपाल सरकारले तोकेको न्यूनतम समर्थन मूल्यको पालना नभएको गुनासो बारम्बार आइरहेका बेला गौरादह नगरपालिकाको यस्तो पहलले कृषकलाई राहत मिल्ने विश्वास गरिएको छ।
नगरप्रमुख सुवेदीले थप बताएका छन्, 'हामी सबै व्यवसायीहरूलाई आग्रह गर्छौं कि कृषकबाट उत्पादन खरिद गर्दा तोकिएको मूल्यलाई सम्मान गरियोस्। हाम्रो अपिललाई गम्भीरतापूर्वक लिनुहुन अनुरोध गर्दछु।'
गौरादह नगरपालिकाले कृषक मैत्री नीति कार्यान्वयनतर्फ अग्रसर रहेको जनाएको छ।
प्रतिक्रिया