हल्दिवारीमा ससुरा र बुहारीको हत्या प्रयास गर्ने बिर्तामोडका पौडेल पक्राउ
झापा, हल्दिवारी — झापाको हल्दिवारीमा ससुरा र बुहारीको हत्या प्रयास गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्ने व्यक्ति बिर्तामोड नगरपालिका–९ गरामनीका ३४ वर्षीय दिपक पौडेल हुन्।
बुधवार दिउँसो ३ः३० बजे, पौडेलले हल्दिवारी गाउँपालिका–२ स्थित प्रसाईं बस्तीमा रहेकी बुहारी रेखा खरेल प्रसाईं (३० वर्ष) र उनका ससुरा गंगा प्रसाईंमाथि धारिलो हतियार (सिक्कल) प्रहार गर्न खोजेका थिए। गंगा प्रसाईं नेपाली कांग्रेस हल्दिवारी गाउँ समिति अध्यक्ष समेत हुन्।
स्थानीयवासीको तत्काल हस्तक्षेपमा दुबैजनाको ज्यान जोगिएको थियो। घटनापछि पौडेललाई हल्दिवारी प्रहरीले नियन्त्रणमा लिई साँझ ६ः३० बजे जिल्ला प्रहरी कार्यालय झापामा पठाएको छ। प्रहरीले घटनास्थलबाट पौडेलले प्रयोग गरेको प्र १–०१–०१२ प ५५७३ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको जनाएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार, पौडेल विगत केही वर्षदेखि साउदी अरबमा बस्दै आएका थिए र पछिल्लो एक वर्षदेखि सामाजिक सञ्जालमार्फत रेखा खरेललाई बारम्बार धम्क्याउने, गालीगलौज गर्ने र चरित्र हत्या गर्ने गतिविधिमा संलग्न रहेको खुलेको छ।
साइबर अपराधसम्बन्धी यिनै गतिविधिका कारण उनीविरुद्ध २०७९ साल चैत महिनामा जिल्ला प्रहरी कार्यालय झापा र साइबर ब्यूरो हनुमानढोका, काठमाडौंमा उजुरी दर्ता गरिएको थियो।
प्रहरीका अनुसार, सोही रिसइबीको कारण पौडेलले हत्या प्रयास गरेका हुन्। घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया