बुद्धशान्ति गाउँपालिका वडा नं. २ का वडाध्यक्ष ओली घुस काण्डमा निलम्बन
झापा। झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. २ का वडाध्यक्ष डिल्ली प्रसाद ओलीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा निलम्बन गरेको छ। सेवाग्राहीसँग घुस लिएको अभियोगमा वडाध्यक्ष ओलीलाई मिति २०८१ असोज ८ गते पक्राउ गरिएको हो।
वडाध्यक्ष ओलीले जग्गाको लिखत प्रमाणित सम्बन्धी कामका लागि अमरनाथ चौहानसँग घुस लिएको आरोपमा पक्राउ परेका हुन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १६ को उपदफा ४ अनुसार विशेष अदालत, काठमाडौंबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।
यस प्रकरणमा वडाध्यक्ष ओलीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ परिच्छेद ३ को दफा ३३ बमोजिम स्वतः निलम्बन गरिएको छ। कानूनी प्रावधानअनुसार सार्वजनिक पद धारण गरेका राष्ट्रसेवकले घुस लिएको आरोपमा पक्राउ परेपछि उनी स्वतः निलम्बनमा रहने व्यवस्था छ।
यो घटनाले बुद्धशान्ति गाउँपालिकामा व्यापक चर्चा र चिन्ता उत्पन्न गरेको छ। वडाध्यक्षमाथि लागेको आरोपले स्थानीय स्तरमा भ्रष्टाचार विरुद्धको अभियानलाई थप बल दिएको छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस घटनालाई गम्भीरतापूर्वक लिंदै अनुसन्धानलाई तीव्रता दिएको छ।
जनताको विश्वासमा आँच पुर्याउने यस्ता कार्यहरूको अनुसन्धान निरन्तर भइरहने आयोगले जनाएको छ।
प्रतिक्रिया