श्रावण १४ २०८२, बुधवार

आँखा रोग उपचारका लागि प्रभावकारी सेवा प्रदेशभरी विस्तार गर्न आवश्यक छलफल सुरु

विराटनगर । कोशी प्रदेश सरकारले आँखा रोग उपचारका लागि प्रभावकारी सेवा प्रदेशभरी विस्तार गर्न आवश्यक छलफल सुरु गरेको छ ।
Ads


स्वास्थ्यमन्त्री समेत रहनुभएका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विराटनगर आँखा अस्पताल, नेपाल नेत्र ज्योति संघ, मन्त्रालयका सचिवसहितका सरोकारवालाहरुसँग आँखा रोगको उपचारलाई प्रभावकारी बनाउने बारे छलफल गर्नुभएको छ । कोशी प्रदेशमा स्मार्ट भिजन ग्लासको प्रयोगलाई नमूनाको रुपमा कसरी लैजान सकिन्छ र प्रदेशका दुर्गम जिल्लाहरुमा आँखा उपचार सेवा पुर्याउनका लागि काम गर्ने गरी छलफल भएको थियो । गायिका मेनुका पौडेलले प्रयोग गरेको स्मार्ट भिजन ग्लास प्रदेशका दृष्टिविहिनहरुलाई प्रयोग गर्ने गरी नमूना कार्यक्रम सुरु गर्ने विषयमा छलफल भयो । मोवाइल सहित करिब १ लाख रुपैयाँ पर्ने यो स्मार्ट भिजन ग्लास प्र्रयोगले दृष्टिविहिनहरुको जीवन सहज बनाउन र उनीहरुलाई काम गर्न समेत सहयोग पुग्छ । तिहार अघि नै तीन जना प्रदेश दृष्टिविहिनहरुलाई यसको प्रयोग गर्ने गरी विराटनगर आँखा अस्पतालले तयारी सुरु गरेको छ । यसमा प्रदेश सरकारले पनि सहयोग गर्ने मुख्यमन्त्री कार्कीले बताउनुभयो ।  कोशी प्रदेशमा करिब ४ हजार ४ सय जना दृष्टिविहिन नागरिक छन् । आँखाका बिरामीहरुको संख्या भने ठुलो रहेको छ । सो अवसरमा यातायात चालकहरुको आँखा जाँचका सन्दर्भमा पनि के गर्न सकिन्छ भनेर छलफल भएको थियो । मुख्यमन्त्री कार्कीले आँखा उपचारका कार्यक्रमलाई आगामी वर्ष प्रदेश सरकारले  बजेटमा समेट्ने गरी तयारी गर्ने जानकारी दिनुभयो । छलफलमा नेत्रज्योति संघ प्रदेशका अध्यक्ष श्यामसुन्दर उदास, विराटनगर आँखा अस्पतालका अध्यक्ष पदमनारायण चौधरी, स्वास्थ्य सचिव डा. राधिका थपलियालगायतको सहभागिता थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार