निरौलाको हत्यामा संलग्न तीनजना पक्राउ
झापा, दमक – चर्को जनदबाबपछि प्रहरीले दमक –९ बस्ने ३७ वर्षीय यमु (देशु) निरौलाको हत्यामा संलग्न तीनजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा मोरङ उर्लाबारी–६ बस्ने ४२ वर्षीय प्रकाश कार्की, उर्लाबारी–७ बस्ने ४९ वर्षीय ध्रुव गौतम र संखुवासभा मादी–१० स्थायी ठेगाना भई दमक –३ दुम्से बस्ने २६ वर्षीय गणेश दर्जी रहेका छन्।
प्रहरीले कार्की र गौतमलाई घटनाको दिनमै पक्राउ गरेको थियो भने फरार दर्जीलाई प्रहरीले काँकडभिट्टाबाट पक्राउ गरेको हो। घटनासँग जोडिएका अन्य फरार प्रतिवादीहरुको खोजी कार्य जारी रहेको र घटनास्थलमा फेला परेका दुई सवारीसाधनहरूको समेत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले जानकारी दिएका छन्।
जग्गा विवादका कारण हत्या
गत कात्तिक ६ गते दिउँसो दमक –३, उज्यालो टोल विकास संस्थाको दक्षिणपट्टि रहेको बगरमा जग्गाको विषयमा विवाद हुँदा यमु निरौलाको हत्या भएको थियो। घटनापछि मृतकका आफन्त र स्थानीयवासीले निरन्तर पाँच दिनसम्म आन्दोलन गर्दै प्रहरीलाई दोषी पक्राउ गर्न दबाब दिएका थिए।
प्रहरीले मृतककी श्रीमती कृष्णमायाको किटानी जाहेरी दर्ता गरेपछि तीनजनालाई पक्राउ गरे पनि अन्य मुख्य आरोपीहरू अझै पक्राउ परेका छैनन्। मृतक निरौलाको कुटपिटमा संलग्न रहेका भनिएका राजु भनिने शेरबहादुर लिम्बू, दमक–८ का बुद्धिमान थापा, नमकुमार चेम्जोङ, र इटहरी बस्ने भनिएका डेबिट घले लगायतका व्यक्ति फरार छन्। मृतकका आफन्तले दोषीको तत्काल पक्राउ र कारबाहीको माग गर्दै निरन्तर दबाब दिइरहेका छन्।
डीएसपी चन्दले घटनामा संलग्न व्यक्तिहरुको खोजी कार्यमा कुनै कसर बाँकी नराख्ने र कानूनी प्रक्रिया अन्तर्गत अघि बढिरहेको प्रतिबद्धता जनाएका छन्। तर, घटनाले स्थानीयवासीबीच असन्तोष र आक्रोश बढेको छ। पीडित पक्षले मुख्य आरोपीहरूको पक्राउले मात्र न्याय पाउने विश्वास गरेका छन्।
घटनाको अनुसन्धान र प्रक्रियामा प्रहरीको प्रयास जारी रहे पनि पीडित पक्षलाई तत्काल न्याय दिलाउनका लागि मुख्य आरोपीहरूको पक्राउ अपरिहार्य बनेको छ। यस घटनाले समुदायमा सुरक्षा र न्यायप्रतिको विश्वासमा प्रश्न खडा गरेको छ भने स्थानीयवासीको निरन्तर दबाबले प्रहरीको जिम्मेवारीलाई थप चुनौती दिएको छ।
प्रतिक्रिया