श्रावण १४ २०८२, बुधवार

गौरादह जेसीजको १२औं पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

Ads

 

झापा/ गौरादह: गौरादह जेसीजको १२औं पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम माघ १३ गते गौरादह–३ स्थित दशमी पार्टी प्यालेसमा भव्य रूपमा सम्पन्न भएको छ। यस कार्यक्रममा नव निर्वाचित अध्यक्षले नयाँ नेतृत्व सम्हाल्दै समाजसेवाका नयाँ योजनाहरू अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

Ads

कार्यक्रमको प्रमुख अतिथि संविधानसभा सभासद दीपक कार्की रहनुभएको थियो। अन्य विशिष्ट अतिथिहरूमा गौरादह नगर प्रमुख छत्रपती सुवेदी, प्याब्सन केन्द्रीय उपाध्यक्ष नारायण घिमिरे, वडा नम्बर १ का अध्यक्ष नगेन्द्र भण्डारी, वडा नम्बर ३ का अध्यक्ष दिलिप भण्डारी, पूर्व क्याम्पस प्रमुखहरू, संस्थापक अध्यक्ष विशाल सिटौला लगायत हालसम्मका अध्यक्षहरूको सामूहिक उपस्थिति रहेको थियो। सामाजिक, शैक्षिक, बौद्धिक व्यक्तित्वहरू र विभिन्न संस्थाका प्रतिनिधिहरूले पनि आफ्नो उपस्थिति जनाएका थिए।

वर्ष २०२४ का अध्यक्ष जेसी खड्ग थापाले आफ्नो पदावधि समाप्त गर्दै नव निर्वाचित अध्यक्ष जेसी दुर्लभ कार्कीलाई जेसीज चेन हस्तान्तरण गर्नुभएको थियो।

Ads

कार्यक्रममा प्रमुख अतिथि दीपक कार्कीले गौरादह जेसीजको योगदानलाई उच्च मूल्यांकन गर्दै भन्नुभयो, "वर्ष २०१२ देखि गौरादह जेसीजका गतिविधिहरूलाई हेरिरहेको छु। समाज रुपान्तरणमा यसको भूमिका अत्यन्तै महत्त्वपूर्ण छ। युवाहरूलाई सकारात्मक सोच राख्न प्रेरित गर्नु र लागू औषध दुर्व्यसनमुक्त समाज निर्माण गर्ने अभियानमा यस संस्थाले ठूलो प्रभाव पारेको छ।"

गौरादह नगर प्रमुख छत्रपती सुवेदीले जेसीजको सामाजिक योगदानलाई सराहना गर्दै भन्नुभयो, "गौरादह नगरपालिका सामाजिक संघसंस्थासँग हातेमालो गरेर अगाडि बढ्न चाहन्छ। जेसीजको स्थायित्वका लागि नगरपालिका आवश्यक सहयोग गर्न तयार छ।"

प्याब्सन केन्द्रीय उपाध्यक्ष नारायण घिमिरेले कार्यक्रममा जेसीजलाई कार्यालय स्थापनाका लागि जग्गा दान गर्ने संकेत गर्दै भन्नुभयो, "जेसीज जस्तो संस्था भाडाको घरमा कार्यालय राख्न बाध्य हुनु अस्वीकार्य छ। यो समस्या समाधानका लागि मैले व्यक्तिगत रूपमा केही योजना बनाएको छु।"

पूर्व अध्यक्ष खड्ग थापाले आफ्नो कार्यकालमा सम्पन्न कार्यक्रमहरूको स्मरण गर्दै सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो। उहाँले सुरुङ नाटकसहितका दर्जनौं सफल कार्यक्रमहरूको चर्चा गर्दै गौरादह जेसीजप्रति आफ्नो गर्व व्यक्त गर्नुभयो।

नव निर्वाचित अध्यक्ष दुर्लभ कार्कीले आफ्नो कार्यकाललाई ऐतिहासिक बनाउने प्रतिबद्धता व्यक्त गर्दै भन्नुभयो, "वर्ष २०२५ मा गौरादह जेसीजलाई अझ बलियो र प्रभावकारी बनाउन नयाँ कार्यक्रमहरू ल्याउनेछौं। युवाहरूलाई जागरूक बनाउन र समाज रुपान्तरणका अभियानहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रयास हुनेछ।"

गौरादह जेसीजको यो कार्यक्रमले नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गर्दै समाजसेवाका नयाँ योजनाहरू अघि बढाउने आधार तयार गरेको छ। सुरुङ पुस्तक विमोचन र सम्मान समारोहले कार्यक्रममा विषेश ऊर्जा थपेको थियो। नव निर्वाचित नेतृत्वबाट गौरादह जेसीजले नयाँ उचाइ हासिल गर्ने विश्वास गरिएको छ।

- गौरादह संवाददाता

प्रतिक्रिया

सम्बन्धित समाचार