जनता मा. वि. ले मनायो ५७औं स्थापना दिवस
गुडलक दाहाल
झापा, माघ १५, २०८२, मंगलबार-
गौरादह १ मा रहेको जनता माध्यमिक विद्यालयले स्थापना दिवस भव्य रूपमा मनाएको छ । विविध साँस्कृतिक कार्यक्रम गर्दै आफ्नो ५७ औं स्थापना दिवस मनाएको हो ।
कार्यक्रममा विद्यालय स्थापना देखि हाल सम्म आइपुग्दाका आरोह अवरोह बारे चर्चा परिचर्चा गरिएको थियोे ।
उद्घाटन समारोहमा आफ्ना भनाइ राख्दै कोशी प्रदेश मुख्यमन्त्री तथा कार्यक्रमका प्रमुख अतिथि हिक्मत कुमार कार्कीले आफैंले अध्ययन गरेको विद्यालयको वार्षिकोत्सवमा सहभागी हुन पाउँदा गौरव महसुस भएको बताए । जनता मा. वि. ले मुलुकमा आवश्यक पर्ने दक्ष जनशक्ति उल्लेख्य संख्यामा उत्पादन गरिसकेको बताउदै मुख्यमन्त्री कार्कीले विद्यालयको भौतिक पुर्वाधारको क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको बताए ।
'दशकौंदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको यस बिद्यालयको भवन जिर्ण अवस्थामा रहेका छन् । प्रदेश सरकारले यस बारेमा गम्भीर भएर सोचिरहेको छ ।
छिट्टै शुभ समाचार सुन्न पाउनु हुनेछ।', मुख्यमन्त्री कार्कीको भनाइ रहेको थियोे ।
विद्यालयको कम्पाउण्ड सँग जोडिएको पोखरीहरुलाई पर्यटकीय स्थलमा बिकास गर्ने परियोजना अगाडि बढिसकेको बताउदैँ वहाँले कोशी प्रदेशलाई विकेन्द्रीकरणको निति अनुसार बिकास निर्माण प्रक्रियामा निरन्तरता दिइएको जनाउनु भयो ।
विद्यालयको भवन निर्माणका अतिरिक्त शैक्षिक गुणस्तर सुधार गर्न समेत आवश्यक रहेको बताउदै समाज रुपान्तरणको बदलिँदो अवस्था अनुसार विद्यालयहरु डिजिटलाइज हुनुपर्नेमा जोड दिए ।
झण्डै १५ सय विद्यार्थी अध्ययनरत यस विद्यालयमा कम्प्युटर इन्जिनियरिङ, बिज्ञान र व्यवस्थापन संकाय सहित कक्षा १२ सम्म अध्यापन हुँदै आएको छ ।
कार्यक्रमकै सन्दर्भमा दुई जना दाताको सहयोगमा २ लाख २५ हजार बराबरको अक्षयकोष समेत स्थापना गरिएको छ । अक्षयकोष स्थापनाको लागि गौरादह ३ निवासी उर्मिला कार्कीबाट २ लाख तथा गौरादह १ निवासी गंगा कार्कीबाट २५ हजार रुपैयाँ प्राप्त भएको जनाइएको छ ।
वार्षिकोत्सवको अवसरमा बिद्यालयलाई आर्थिक तथा भौतिक रूपमा सहयोग गर्ने दाताहरूलाई सम्मान समेत गरियो ।
कार्यक्रममा संविधानसभा सभासद दिपक कार्की, नगर उपप्रमुख जलवर्षा राजवंशी, वडा नं. १ का वडाध्यक्ष तथा नगर प्रवक्ता नगेन्द्र भण्डारी, नगर शिक्षा शाखा प्रमुख बिदुर आचार्य, विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्षहरु इन्द्र गौतम, श्याम पोख्रेल लगायत सामाजिक, शैक्षिक तथा बौद्धिक व्यक्तित्वहरुको विषेश उपस्थिति रहेकोे थियोे ।
कार्यक्रममा बिद्यालय स्काउट र विद्यार्थीहरुको तर्फबाट साँस्कृतिक प्रस्तुति दिइएको थियोे ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष बुद्धिनान कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालय प्र. अ. हरि अधिकारीले स्वागत मन्तव्य तथा कार्यक्रमको सञ्चालन शिक्षक द्वय मित्रदेव काफ्ले र दिपक सुवेदीले गरेका थिए ।
प्रतिक्रिया