गौरादह जेसीज वर्ष २०२५ को पहिलो कार्यक्रम सफलतापूर्वक सम्पन्न
गौरादह, माघ २६ - गौरादह जेसीज वर्ष २०२५ को प्रथम कार्यक्रम LOM Officer's Training आज गौरादह जेसीज सचिवालयमा सम्पन्न भएको छ। गौरादह नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष श्री दिलीप भण्डारीको प्रमुख आतिथ्यता तथा गौरादह जेसीज वर्ष २०२५ का अध्यक्ष जेसी दुर्लभ कार्कीको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा गौरादह जेसीजका पूर्व अध्यक्ष जेसी क्रान्तिदीप काफ्ले, वर्ष २०२५ का अध्यक्षीय सल्लाहकार जेसी प्रकाश भट्टराई, निवर्तमान अध्यक्ष तथा नेपाल जेसीज वर्ष २०२५ का "क्षेत्र क तालिम आयुक्त" जेसी खड्गबहादुर थापा, कार्यसमिति सदस्यहरू तथा संयोजकहरूको सहभागिता रहेको थियो।
तालिम कार्यक्रमको सहजीकरण विराटनगर जेसीज वर्ष २०२५ का महासचिव तथा Nepal Jaycees TOT Trainer जेसी प्रवेश दुलालले गर्नुभएको थियो। कार्यक्रममा कार्यसमितिले निर्वाह गर्नुपर्ने कर्तव्य, अधिकार तथा जिम्मेवारीका विषयमा विस्तृत छलफल गरिएको थियो।
कार्यक्रमका संयोजक वर्ष २०२५ का कोषाध्यक्ष जेसी मनिषा खत्री रहनुभएको थियो भने महासचिव सुमन खत्रीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। प्रमुख अतिथि तथा पूर्व अध्यक्ष क्रान्तिदीप काफ्लेसहित उपस्थित विशिष्ट व्यक्तित्वहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रमको अन्त्यमा अध्यक्ष जेसी दुर्लभ कार्कीले सम्पूर्ण सहभागी, प्रशिक्षक तथा सहयोगीहरूलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको सफल समापन भएको घोषणा गर्नुभयो।
प्रतिक्रिया