श्रावण १५ २०८२, बिहिबार

गोल्डेन सनराइज मा.वि. को नगरस्तरीय परीक्षामा चम्किलो उपस्थिति: A+ ल्याउनेमा अग्रस्थान

Ads

 

गौरादह, झापा —
गौरादह १ मा रहेको गोल्डेन सनराइज मावि यस वर्षको नगरस्तरीय वार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउँदै नगरभित्रकै प्रतिस्पर्धी विद्यालयहरूलाई पछि पार्न सफल भएको छ। गौरादह नगरपालिका शिक्षा शाखाद्वारा आयोजित  अन्तर्गत कक्षा ८ मा परीक्षा दिएका ४१ मध्ये १३ जना विद्यार्थीले A+ ल्याएका छन्, जुन नगरभित्रकै उच्च दर हो।

Ads

नगरका अन्य विद्यालयसँग तुलना गर्दा यो सफलता उल्लेखनीय देखिन्छ। उदाहरणका लागि, गौरादह ७ मा रहेको नमुना माविका एक विद्यार्थीले ४.०० जिपिए ल्याएर व्यक्तिगत रूपमा कीर्तिमान कायम गरेका छन्, समष्टिगत रुपमा गोल्डेन सनराइजको समग्र परिणाम बढी प्रभावशाली देखिएको छ।

कक्षा ८ मा उत्कृष्ट स्थान हासिल गरेको भन्दै गर्दा कक्षा ५ को परीक्षाफलले गोल्डेन सनराइजलाई नगरकै प्रथम स्थान हासिल गराएको पाइएको छ । २ वटा ४ जिपिए सहित अधिकांश विद्यार्थीले ए प्लस ल्याउन सफल भएका विद्यालय प्रशासनले जनाएको छ । 

Ads

विद्यालयका शिक्षक राम तामाङ भन्छन्, “A+ को हिसाबमा हेर्ने हो भने गोल्डेन सनराइजको नतिजा नगर भित्रकै सबैभन्दा उत्कृष्ट हो। कक्षा ५ मा समेत हाम्रो नतिजा राम्रो आएको छ, जुन हाम्रो शैक्षिक मेहनत र लगनशीलताको प्रमाण हो।”

शिक्षक तामाङका अनुसार विद्यालयमा शिक्षक र अभिभावकबीचको सहकार्य, नियमित गृहकार्यको मूल्याङ्कन, आन्तरिक मूल्यांकन प्रणालीको मजबुती, र हरेक विद्यार्थीको कमजोरी पहिचान गरी व्यक्तिगत ध्यान दिने अभ्यासले यस्तो सफलता सम्भव भएको हो।

गोल्डेन सनराइज माविमा विगत केही वर्षदेखि विद्यार्थी केन्द्रित शिक्षण पद्धति, नविनतम शैक्षिक प्रविधिको प्रयोग, र शिक्षकहरूको निरन्तर तालिमजस्ता अभ्यासहरू जारी छन्। विद्यालय व्यवस्थापन समितिको सक्रिय भूमिका, अभिभावकहरूको सहभागिता र विद्यार्थीहरूको नियमित उपस्थितिले समग्र शैक्षिक वातावरणमा सकारात्मक परिवर्तन ल्याएको विद्यालय प्रशासन बताउँछ।

विद्यालयका प्रधानाध्यापकका अनुसार, “हामी केवल पाठ्यपुस्तकमा सीमित रहँदैनौं, अतिरिक्त क्रियाकलाप, भाषिक दक्षता विकास, र नैतिक शिक्षामा पनि बराबर ध्यान दिइन्छ।”

गौरादह नगरपालिकाका शिक्षा शाखाका एक कर्मचारीका अनुसार, “नगरभित्रका विद्यालयहरूमा प्रतिस्पर्धात्मक सुधार भइरहेको छ। गोल्डेन सनराइज माविले देखाएको नतिजा अन्य विद्यालयका लागि पनि प्रेरणादायी बन्न सक्छ।”

अन्तरविद्यालय प्रतिस्पर्धाले गुणस्तरीय शिक्षाको विकास

शिक्षाविद्हरूको भनाइमा, नगरस्तरीय वार्षिक परीक्षा मात्र अंकको आधार होइन, शैक्षिक संस्थाको व्यवस्थापन, योजना, कार्यान्वयन र शिक्षणको समग्र चित्रण हो। यसले नगरभित्र गुणस्तरीय शिक्षाको अवस्था बुझ्न सजिलो बनाउँछ। गोल्डेन सनराइज माविको प्रदर्शनले स्पष्ट पारेको छ कि प्रतिबद्ध शिक्षक, सचेत अभिभावक र कडा मिहिनेत गर्ने विद्यार्थीहरूको त्रिकोणात्मक सहकार्यबाट नै शैक्षिक उत्कृष्टता सम्भव छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार