गौरादहमा पहिलोपटक: गोल्डेन सनराइज स्कुलमा रोबोटिक्स, IoT र AI कक्षा सुरु हुने
गौरादह, झापा | पर्दाफास
गौरादह नगरपालिकाको एक प्रतिष्ठित विद्यालय गोल्डेन सनराइज इङ्लिस सेकन्डरी स्कूलले शैक्षिक सत्र २०८२ देखि प्रविधिमैत्री शिक्षा सुरु गर्ने भएको छ। विद्यालयले रोबोटिक्स, इन्टरनेट अफ थिङ्स (IoT) र कृत्रिम बौद्धिकता (AI) विषयमा विद्यार्थीलाई सिकाउने तयारी गरेको छ।
प्रविधिमा आधारित यस्तो पहल गौरादहमा पहिलोपटक हुन लागेको हो। विद्यालयले PI Innovation नामक संस्थाको प्राविधिक सहयोगमा यो कार्यक्रम अगाडि बढाउन लागेको जनाएको छ।
विद्यालयका शिक्षक राम तामाङले विद्यार्थीलाई पाठ्यपुस्तकमै सीमित नराखी, भविष्यअनुकूल दक्ष बनाउने उद्देश्यले यो कार्यक्रम ल्याइएको जानकारी दिए। “अबका दिनमा सिर्जनशीलता, समस्या समाधान क्षमता र वैज्ञानिक सोच अत्यावश्यक हुन्छ। हामी विद्यार्थीलाई त्यही दिशामा अगाडि बढाउन चाहन्छौं,” उनले भने।
यो कार्यक्रममार्फत विद्यार्थीले आफैंले रोबोट बनाउन सिक्ने, स्मार्ट उपकरणको उपयोग गर्न जान्ने र बालमैत्री तरिकाले कृत्रिम बौद्धिकता बुझ्ने अवसर पाउनेछन्।
गोल्डेन सनराइज स्कुलले यसअघि पनि नगरपालिका स्तरीय परीक्षामा राम्रा नतिजा ल्याउँदै आएको छ। अब प्रविधिमा आधारित नयाँ कक्षा सुरु गर्दै विद्यालयले आफ्नो शैक्षिक स्तर अझ उचो बनाउने संकेत दिएको छ।
गौरादहमा यो पहलसँगै स्थानीय स्तरमै प्रविधि शिक्षा सम्भव भएको सन्देश गएको छ। अभिभावकदेखि शिक्षाविद्हरूले यसलाई स्वागत गरेका छन्।
प्रतिक्रिया