गौरादह उद्योग बाणिज्य संघको सातौँ साधारण सभा सम्पन्न, अध्यक्ष कार्कीले कार्ययोजना सार्वजनिक गर्दै आगामी लक्ष्य प्रस्तुत
गौरादह, झापा — गौरादह उद्योग बाणिज्य संघको सातौँ साधारण सभा शनिबार भव्यताका साथ सम्पन्न भएको छ। संघका अध्यक्ष जीतबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न सभामा संघको विगत एक वर्षको उपलब्धि, संरचनागत सुधार, भौतिक पूर्वाधार विकास र आगामी योजना प्रस्तुत गरियो।
संघका अध्यक्ष कार्कीले सभामा बोल्दै संघको स्थापनाकालदेखि हालसम्मका महत्त्वपूर्ण उपलब्धिहरूलाई उजागर गरे। २०५२ साल असार १७ गते स्थापना भएर २०७३ सालदेखि विधिवत रुपमा दर्ता भई नगर उद्योग बाणिज्य संघको रूपमा अगाडि बढेको संघले हालसम्म विभिन्न चरणमा उल्लेखनीय प्रगति गरेको उनले बताए।
गत वैशाख २६ गते सम्पन्न निर्वाचनबाट दोस्रो कार्यकालका लागि निर्वाचित अध्यक्ष कार्कीले “कुरा हैन, काम गरौं; प्रचारबाजी हैन, दायित्व बहन गरौं” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै काम अघि बढाइएको उल्लेख गरे।
संघले विधान संशोधनमार्फत समावेशी प्रतिनिधित्व सुनिश्चित गर्नुका साथै, कोशी प्रदेश सरकारको सहकार्यमा रु. ४ करोड ७५ लाखको लागतमा सुविधा सम्पन्न सभाहल निर्माण सम्पन्न गरिसकेको छ। यस्तै, झापा उद्योग वाणिज्य संघको नाममा रहेको जग्गा नामसारी गरी संघको नाममा ल्याउने काम, जग्गा सट्टापट्टा, महासंघको सदस्यता प्राप्ति लगायतका कार्यहरू पूरा भएको जनाइएको छ।
संघले आर्थिक पारदर्शिता सुनिश्चित गर्दै रु. १४ लाखभन्दा बढीको विगतको दायित्व चुक्ता गरेको र पुरानो सभाहललाई २० वर्षका लागि गौरादह नगरपालिकालाई कभर्डहल सञ्चालनका लागि भाडामा दिएको जानकारी दिइएको छ। त्यस्तै, दाताहरुको नाम अभिलेख गरी शिलालेखमा राखिएको र सम्पूर्ण बजारलाई एकरूपताका साथ शनिबार साप्ताहिक बन्द गर्ने निर्णयसमेत कार्यान्वयनमा ल्याइएको अध्यक्ष कार्कीले जानकारी दिए।
अध्यक्ष कार्कीले आगामी योजनाका रूपमा स्व. इन्द्र लोहनी स्मृति पार्क निर्माण, व्यवसायिक मदत कक्ष स्थापना, हाटबजार व्यवस्थापन, फोहोरमैला तथा ढल व्यवस्थापन, CCTV जडान लगायतका योजनाहरु सार्वजनिक गरे। संघको स्वामित्वमा रहेका सम्पत्ति संरक्षण, सौन्दर्यकरण, फर्निचर र जेनेरेटर खरिद, पार्क निर्माण लगायतका कार्यहरू बजेट जुटाएर यथाशीघ्र सम्पन्न गर्ने तयारी रहेको उनले बताए।
कार्यसमितिका सदस्यहरू, कर्मचारी र सम्पूर्ण व्यवसायीको अमूल्य साथ, सहयोग र योगदानका कारण हालसम्मका उपलब्धिहरू सम्भव भएको भन्दै अध्यक्ष कार्कीले सबैलाई हार्दिक धन्यवाद ज्ञापन गरे।
प्रतिक्रिया