गौरादह नगरपालिकाले ग्वालडूब्बा बजारमा खाद्य अनुगमन सुरु गर्यो
गौरादह (झापा), वैशाख १६।
गौरादह नगरपालिकाले बजारमा पाइने खाद्य तथा उपभोग्य वस्तुको गुणस्तर, मूल्य र म्यादको अनुगमन सुरु गरेको छ। आज मिति २०८२ साल वैशाख १६ गते गौरादह नगरपालिका वडा नं. ७ अन्तर्गतको ग्वालडूब्बा बजारमा अनुगमन कार्य सम्पन्न भएको हो।
नगर उपप्रमुख जलबर्षा राजबंशीको संयोजनमा सम्पन्न उक्त अनुगमनमा नगरपालिकाका सम्पूर्ण शाखा प्रमुखहरू, कार्यालय प्रमुख कृष्णप्रसाद सुवेदी, इलाका प्रशासन कार्यालय गौरीगञ्जका नायब सुब्बा बिरेन्द्र चौहान, स्वास्थ्य शाखाकी पद्मा ओली, कृषि शाखाका संगम भट्टराई, राजस्व शाखाकी जानुका कार्की, र अधिकृत प्रज्वल अधिकारी सहितको जम्बो टोली सहभागी थियो।
उपप्रमुख राजबंशीले अनुगमनपछि जानकारी दिँदै, "बजारमा उपभोग्य वस्तुको गुणस्तरमा ध्यान पुर्याउन उपभोक्ताको अधिकारको संरक्षणका लागि यस्तो अनुगमन आवश्यक छ," भन्दै आगामी दिनहरूमा अन्य वडाहरूमा पनि अनुगमन निरन्तर जारी रहने बताउनुभयो।
अनुगमन टोलीले व्यवसायीहरूलाई उपभोग्य सामग्रीमा मूल्यसूची राख्न, म्याद सकिएका सामान बिक्री नगर्न र उपभोक्ताको स्वास्थ्यप्रति सचेत रहन सुझाव दिएको थियो।
प्रतिक्रिया