प्रेस स्वतन्त्रताका लागि झापाका १० राजनीतिक दलको साझा प्रतिबद्धता
झापा, वैशाख २० – पर्दाफास सम्बादाता
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ झापा शाखाले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा झापाका प्रमुख १० राजनीतिक दलहरूले प्रेस स्वतन्त्रताको संरक्षण र प्रवर्द्धनका लागि साझा प्रतिबद्धता व्यक्त गरेका छन्।
“प्रेस स्वतन्त्रताका लागि राजनीतिक दलहरुको प्रतिवद्धता” शीर्षकको उक्त कार्यक्रम २०८२ सालको वैशाख २० गते (मे ३, २०२५) सम्पन्न भएको हो। कार्यक्रममा सहभागी राजनीतिक दलका प्रतिनिधिहरूले संयुक्त रुपमा पाँच बुँदे साझा प्रतिबद्धता सार्वजनिक गर्दै पत्रकार सुरक्षादेखि सञ्चार नीतिनियम र सामाजिक सुरक्षासम्मका विषयमा स्पष्ट धारणा राखेका थिए।
संयुक्त प्रतिबद्धतामा भनिएको छ कि संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रताको व्यवहारिक कार्यान्वयन सुनिश्चित गर्न सबै सरोकारवालाले ध्यान दिनुपर्नेछ। साथै, संघ, प्रदेश र स्थानीय तहका सञ्चारसम्बन्धी कानूनहरु बनाउने र कार्यान्वयनमा लैजाने विषयमा विशेष जोड दिइएको छ।
२०७८ सालमा काठमाण्डौको तीनकुनेमा भएको पत्रकार सुरेश रजकको हत्या, घाइते पत्रकारहरूको उपचार तथा क्षति भएका सञ्चार संस्थाको क्षतिपूर्तिको माग गर्दै सरकारलाई ध्यानाकर्षणसमेत गराइएको छ।
यस्तै, झापाका पत्रकारहरूको सामाजिक सुरक्षाका लागि पत्रकार सहारा उपचार कोषको विस्तार र पत्रकार महासंघको संस्थागत विकासमा पनि सहकार्य गर्ने राजनीतिक दलहरूको प्रतिवद्धता छ।
प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्ने दलहरूमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल कम्युनिष्ट पार्टी रहेका छन्।
कार्यक्रममा नेपाली कांग्रेस झापाका कार्यवाहक सभापति केशवराज पाण्डे, नेकपा एमाले झापाका अध्यक्ष प्रेम गिरी, माओवादी केन्द्रका राजु आचार्य अग्नि, रास्वपाका सचिव शम्भु सुस्केरा लगायतका नेताहरू सहभागी थिए।
प्रतिक्रिया