जेनजी आन्दोलन : ७३ युवाको बलिदानपछि सरकार ढल्यो
भ्रष्टाचारविरुद्धको जेनजी आन्दोलनले दुई दिनमै मुलुकको राजनीतिक परिदृश्य बदलिदियो। आन्दोलनको क्रममा ७३ जनाको मृत्यु भयो र सिंहदरबारदेखि संसद् भवनसम्मका महत्त्वपूर्ण संरचना ध्वस्त भए। आन्दोलनकै बलमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ढल्यो, प्रतिनिधिसभा विघटन भयो र नयाँ राजनीतिक संकट खडा भयो।
जेनजी पुस्ताले उठाएका मुख्य मागहरूमा सुशासन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा गर्ने थिए। तर आन्दोलनको पहिलो दिन प्रहरीले लापरवाहीपूर्वक गोली चलाएपछि परिस्थिति हिंसात्मक बन्दै गयो।

ओलीले राजीनामा दिएपछि अन्तरिम समाधानका लागि नेपाली सेनाको सहजीकरणमा जेनजी प्रतिनिधिहरूसँग संवाद अघि बढ्यो। तर संवादमा दुर्गा प्रसाईंसँग बस्नुपर्ने प्रस्ताव आएपछि जेनजीका अगुवा धिरज जोशी र रक्षा बम असहमति जनाउँदै वार्ता टेबुलबाट बाहिरिए। उनीहरूको भनाइमा, प्रसाईं वा अन्य बाहिरी शक्तिलाई आन्दोलनसँग जोड्नु अनुचित थियो।
जेनजीका नेताहरूले बारम्बार जोड दिए—
‘लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र मात्रै हो, व्यवस्थालाई होइन, यसलाई चलाउने व्यक्तिलाई मात्र फेर्नु हाम्रो माग हो।’

उनीहरूले आन्दोलनलाई राजनीतिक व्यवस्था परिवर्तन होइन, करको सदुपयोग र उत्तरदायी शासनबारे प्रश्न उठाउने अभियान भएको स्पष्ट पारे।
यसैबीच, राजतन्त्र पक्षधरहरूले सामाजिक सञ्जालमार्फत आन्दोलनलाई आफ्नो पक्षमा मोड्ने प्रयास गरे पनि जेनजी पुस्ताले आफ्नो अजेन्डा स्वतन्त्रता, समानता र उत्तरदायी शासन नै रह्यो भनी स्पष्ट पारे।

राजनीतिक संकट चुलिँदै जाँदा सेनाको भूमिकामाथि पनि प्रश्न उठ्यो। सेनाले दुर्गा प्रसाईंसँग छुट्टै भेट गरेको घटनाले आलोचना खेप्यो। आन्दोलनका अगुवाहरूले भने वार्ता राष्ट्रपतिसँग मात्र हुनुपर्ने स्पष्ट माग गरेका थिए।
जेनजी पुस्ताले भनेको जस्तै,
‘लोकतन्त्रलाई ड्राइभ गर्ने व्यक्तिहरु गलत भए, व्यवस्था होइन, अवस्था बदल्नुपर्छ।’
प्रतिक्रिया