विभिन्न स्थानबाट अवैध लागूऔषधसहित २६ जना पक्राउ
काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट अवैध तथा नियन्त्रित लागूऔषधसहित २६ जनालाई पक्राउ गरेको छ। शुक्रबार तथा शनिबार गरिएको छुट्टाछुट्टै प्रहरी कारबाहीका क्रममा उनीहरू पक्राउ परेका हुन्।
प्रहरीका अनुसार कास्कीको पोखरा, मोरङ, सुनसरी, बर्दिया, धनुषा, झापा, ललितपुर, कैलाली, तनहुँ र उदयपुरबाट लागूऔषधसहित उनीहरू पक्राउ परेका छन्।
कास्कीमा मात्रै ६ जना पक्राउ परेका छन्। पोखरा महानगरपालिका–१ सिम्पानीबाट टापेन्टाडोल २२० ट्याब्लेटसहित ५ जना पक्राउ परेका थिए। थप अनुसन्धानका क्रममा पोखरा–२५ हेम्जास्थित एक डेरा कोठाबाट थप ८०० ट्याब्लेट टापेन्टाडोल बरामद भएपछि २१ वर्षीय युवकसमेत पक्राउ परेका छन्।
मोरङमा तीन छुट्टाछुट्टै घटनामा ब्राउनसुगरजस्तो देखिने पदार्थ, गाँजा र पुनः ब्राउनसुगरजस्तो पदार्थसहित तीन जना पक्राउ परेका छन्। त्यस्तै सुनसरीमा ५ ग्राम ८५० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित तीन जना पक्राउ परेका छन्।
बर्दियामा ठूलो परिमाणमा खैरो हेरोइन बरामद भएको छ। बढैयाताल गाउँपालिका–२ बाट प्रहरीले करिब ३४९ ग्राम ३६० मिलिग्राम खैरो हेरोइनसहित ५२ वर्षीय दिवे सुनारलाई पक्राउ गरेको जनाएको छ।
धनुषामा ३९ ग्राम ३६० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित एक जना पक्राउ परेका छन्। यस्तै झापाको बिर्तामोडबाट ब्राउनसुगरजस्तो देखिने ४९० मिलिग्राम पदार्थसहित एक जना पक्राउ परेका छन्।
ललितपुरमा दुई छुट्टाछुट्टै घटनामा ट्रामाडोल, पोलेन, टापेन्टाडोल र प्रेगाब्लिनसहित तीन जना पक्राउ परेका छन्। कैलालीमा ब्राउनसुगरजस्तो देखिने पदार्थसहित चार जना तथा तनहुँमा करिब १ किलो ५५० ग्राम गाँजासहित दुई जना पक्राउ परेका छन्।
त्यसैगरी उदयपुरको कटारीबाट टापेन्टाडोल ६१ ट्याब्लेटसहित दुई जना पक्राउ परेका छन्।
प्रहरीले पक्राउ परेका सबै घटनामा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।
प्रतिक्रिया