अपहरण गरी १८ लाख फिरौती माग्ने आरोपमा सात जना पक्राउ
काठमाडौं । अपहरण तथा शरीर बन्धक बनाई फिरौती मागेको आरोपमा प्रहरीले काठमाडौंमा सात जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रामेछापका ३२ वर्षीय मनोज बुढाथोकी, मकवानपुरका २० वर्षीय निशान रूम्बा तामाङ, सर्लाहीका २२ वर्षीय जेनिश चौधरी, ओखलढुंगाका २४ वर्षीय निमेश कार्की, चितवनका २४ वर्षीय अमित ओली, अर्घाखाँचीका २२ वर्षीय प्रदिप पोखरेल र काभ्रेका २३ वर्षीय देवकुमार श्रेष्ठ रहेका छन्।
काठमाडौं महानगरपालिका–२६ मित्रनगरमा बस्दै आएका झापा घर भएका एक व्यक्तिलाई अपरिचित ५/६ जनाको समूहले अपहरण गरी बन्धक बनाएको र कुटपिटसमेत गरेको सूचना प्रहरीले पाएको थियो। अपहरणकारीले पीडितको परिवारसँग १८ लाख रुपैयाँ फिरौती मागेको समेत खुलेको प्रहरीले जनाएको छ।
सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले घटनामा संलग्न सातै जनालाई पक्राउ गरेको हो। प्रहरीले बन्धक बनाइएका पीडितको समेत सकुशल उद्धार गरेको जनाएको छ।


पक्राउ परेकाहरूमाथि जिल्ला अदालत काठमाडौंबाट ६ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनामा अन्य व्यक्तिको संलग्नता भए/नभएको विषयमा समेत अनुसन्धान भइरहेको छ।
प्रतिक्रिया