भदौ ०९ २०८३, मंगलबार

जन्माष्टमीसँगै गौरादहमा गुञ्जिँदैछ रथयात्राको तयारी

गौरादह । गौरादह नगरपालिका–१ स्थित श्री राधाकृष्ण मन्दिरमा यस वर्ष पनि श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर भव्य नगरस्तरीय रथयात्रा आयोजना हुने भएको छ। विगत लामो समयदेखि धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै आएको मन्दिरले यस वर्ष पनि रथयात्राको तयारीलाई तीव्रता दिएको हो।

श्रीकृष्ण जन्माष्टमी केवल भगवान् श्रीकृष्णको जन्मोत्सव मनाउने पर्व मात्र नभई आपसी सद्भाव, धार्मिक आस्था र सांस्कृतिक एकताको पर्वका रूपमा समेत मनाइँदै आएको छ। यही भावनालाई आत्मसात् गर्दै गौरादहमा प्रत्येक वर्ष आयोजना हुने रथयात्राले स्थानीय धार्मिक तथा सांस्कृतिक पहिचानलाई थप बलियो बनाउँदै आएको छ।

यस वर्षको कार्यक्रमअन्तर्गत भाद्र १२ गतेदेखि १९ गतेसम्म साँझ ६ः३० बजेदेखि विभिन्न कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ। भाद्र १९ गते साँझ ६ः३० बजे श्रीकृष्ण प्राकट्य उत्सव आयोजना गरिनेछ।

त्यसैगरी, जन्माष्टमीको अवसर पारेर भाद्र २० गते दिउँसो १ः३० बजेदेखि श्री राधाकृष्ण रथयात्रा निकालिने कार्यक्रम तय गरिएको छ। रथयात्रामा स्थानीय भक्तजन, धार्मिक संघ–संस्था, सामाजिक व्यक्तित्व तथा सर्वसाधारणको सहभागिता रहने अपेक्षा गरिएको छ।

रथयात्राले गौरादहको धार्मिक वातावरणलाई उत्सवमय बनाउनुका साथै नयाँ पुस्तालाई स्थानीय धर्म, संस्कृति र परम्परासँग जोड्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ। रथयात्राको दिन विभिन्न धार्मिक झाँकी, भजन–कीर्तन तथा सांस्कृतिक प्रस्तुतिसहित नगर परिक्रमा गर्ने परम्परा रहेको छ।

स्थानीय स्तरमा आयोजना हुने यस्ता धार्मिक तथा सांस्कृतिक कार्यक्रमले समुदायबीचको आपसी सम्बन्धलाई थप मजबुत बनाउने स्थानीयको विश्वास छ। विशेषगरी जन्माष्टमी र रथयात्राका अवसरमा टाढाटाढाबाट समेत भक्तजन आउने भएकाले यसले गौरादहको धार्मिक पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

श्री राधाकृष्ण मन्दिर एवं नगरस्तरीय रथयात्रा मूल समारोह समितिको आयोजनामा हुने यस कार्यक्रमलाई भव्य र व्यवस्थित बनाउन तयारी भइरहेको जनाइएको छ।

गौरादह–१ स्थित श्री राधाकृष्ण मन्दिरबाट सुरु हुने रथयात्रा यस वर्ष पनि श्रद्धा, उत्साह र धार्मिक आस्थाको साझा उत्सव बन्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार