आज गणेश चतुर्थी र ऋषिपञ्चमी : सप्तऋषिको पूजा गर्दै तीज पर्वको समापन
काठमाडौं। आज गणेश चतुर्थी र ऋषिपञ्चमी पर्व एकै दिन मनाइँदैछ। धार्मिक तथा सांस्कृतिक रूपमा महत्वपूर्ण मानिने यी पर्वका अवसरमा देशभरका गणेश मन्दिर तथा ऋषेश्वर मन्दिरमा बिहानैदेखि श्रद्धालु भक्तजनको चहलपहल बढेको छ।
विशेषगरी ऋषिपञ्चमीका दिन सप्तऋषिको पूजा आराधना गर्ने परम्परा छ। महिलाहरू बिहानै उठेर नदी, खोला, ताल, तलैया तथा पोखरीमा गई स्नान गर्ने र त्यसपछि विधिपूर्वक सप्तऋषिको पूजा गर्ने चलन रहिआएको छ।
स्नान तथा शुद्धीकरणपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्र ऋषिको पूजा गरिन्छ। सप्तऋषिको आराधना गरिने भएकाले भाद्र शुक्ल पञ्चमीलाई ‘ऋषिपञ्चमी’ भनिएको धार्मिक मान्यता छ।
आज काठमाडौंको टेकु, मूलपानीलगायत देशभरका ऋषेश्वर मन्दिरमा पूजाआजाका लागि श्रद्धालु महिला भक्तजनको भीड लागेको छ। बिहानैदेखि मन्दिर परिसरमा पूजा सामग्री बोकेर पुग्ने महिलाहरूको चहलपहल देखिएको छ।

यस वर्षको पर्व भने केही विशेष पनि छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिबाट स्वीकृत पात्रोअनुसार यस वर्ष गणेश चतुर्थी र ऋषिपञ्चमी एकै दिन परेको हो।
गणेश चतुर्थीका अवसरमा भगवान् गणेशको पूजा आराधना गरी सुख, शान्ति, समृद्धि र विघ्नबाधा हटोस् भन्ने कामना गर्ने धार्मिक परम्परा छ। ऋषिपञ्चमी भने विशेषगरी महिलाले सप्तऋषिको पूजा आराधना गर्दै धार्मिक विधि पूरा गर्ने दिनका रूपमा मनाउने गरिन्छ।
यसै दिनसँगै तीज पर्वको धार्मिक चक्र पनि पूरा हुन्छ। आइतबार दर खाएर सुरु भएको तीज पर्वअन्तर्गत सोमबार भाद्र शुक्ल तृतीयाका दिन महिलाहरूले व्रत बसेर शिव–पार्वतीको पूजा आराधना गरेका थिए। आज ऋषिपञ्चमीको पूजा गरेसँगै यस वर्षको तीज पर्व समापन हुँदैछ।
तर, विगतका वर्षजस्तो यस पटक तीजमा उत्साह र रौनक भने देखिएन। भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति गरेपछि देश शोक र पीडामा रहेको अवस्थामा तीज पर्व परेको हो।
बाढीमा ज्यान गुमाउने तथा बेपत्ता भएका परिवारको पीडा र प्रभावित क्षेत्रमा परेको संकटका कारण धेरै ठाउँमा तीजका कार्यक्रमहरू सामान्य रूपमा मात्रै आयोजना भए। सामाजिक उत्सवभन्दा मानवीय संवेदना र विपद्मा परेकाप्रतिको सहानुभूति यस वर्षको तीजमा बढी देखियो।
धार्मिक पर्वहरू केवल पूजा र संस्कारमा मात्र सीमित हुँदैनन्। यिनले समाजलाई जोड्ने, परम्परा पुस्तान्तरण गर्ने र दुःख–सुखमा एकअर्काको साथ दिने संस्कारलाई समेत निरन्तरता दिँदै आएका छन्।
यस अर्थमा आजको गणेश चतुर्थी र ऋषिपञ्चमीले धार्मिक आस्थासँगै सामाजिक एकता र सद्भावको सन्देश पनि बोकेको छ। सप्तऋषिको पूजा गर्दै तीज पर्वको समापन भइरहँदा विपद्मा परेका परिवारको पीडामा साथ दिने र प्रभावित समुदायको पुनःस्थापनामा सहयोग गर्ने भावना अझ बलियो बन्न सके पर्वको सामाजिक अर्थसमेत अझ गहिरो बन्नेछ।
प्रतिक्रिया