कप्तानगन्जमा आखिर कसले चलायो गोली? छानबिन समितिको प्रतिवेदनले खोल्यो रहस्य
इटहरी । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा साउन १० गते भएको हिंसात्मक झडपपछि उठेको सबैभन्दा ठूलो प्रश्न थियो - गोली कसले चलायो?
घटनापछि प्रहरीको गोली चलेको हो कि बाहिरी समूहबाट गोली प्रहार भएको हो भन्नेबारे विभिन्न अड्कलबाजी भइरहेका बेला गृह मन्त्रालयले गठन गरेको छानबिन समितिको प्रतिवेदनले त्यसको जवाफ दिएको छ। गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको नेतृत्वमा गठित समितिले कप्तानगन्जमा चलेको गोली प्रहरीबाटै प्रहार भएको निष्कर्ष निकालेको छ।
समितिले मंगलबार गृह मन्त्रालयमा बुझाएको प्रतिवेदनमा घटनामा कुनै बाहिरी समूह वा घुसपैठ भएको प्रमाण फेला नपरेको उल्लेख छ।
घटनापछि कप्तानगन्जमा बाहिरी समूह प्रवेश गरेको वा घुसपैठ भएको हुनसक्ने अनुमान गरिएको थियो। तर समितिले घटनासँग सम्बन्धित विभिन्न पक्षसँग भेटेर सोधपुछ गर्नुका साथै घटनाको सूक्ष्म अध्ययन गर्दा त्यस्तो कुनै प्रमाण फेला नपरेको जनाएको छ।
समितिका एक सदस्यका अनुसार दुई पक्षबीचको झडप नियन्त्रणमा लिन पुगेको प्रहरी टोलीमाथि नै आक्रमण भएपछि प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको थियो।
घटनास्थलमा प्रहरी टोलीको अवस्था निकै जोखिमपूर्ण बनेको समितिको निष्कर्ष छ। प्रहरीका केही सदस्य घाइते भएको र तत्काल बल प्रयोग नगरे थप मानवीय क्षति हुनसक्ने अवस्था देखिएपछि गोली चलाइएको प्रतिवेदनमा उल्लेख छ।
अर्थात्, समितिको निष्कर्षअनुसार प्रहरीले भीड नियन्त्रण र आत्मरक्षाका क्रममा गोली चलाएको थियो।

कप्तानगन्ज घटनामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले गरी २० राउन्ड गोली चलाएको पाइएको छ।
प्रहरीले चलाएको गोली लागेर स्थानीय ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रवीन्द्र मेहताको मृत्यु भएको थियो।
ओमप्रकाशको घटनाकै राति साउन १० गते मृत्यु भएको थियो। जयप्रकाशको उपचारका क्रममा साउन १४ गते र रवीन्द्रको काठमाडौंमा उपचारका क्रममा साउन १९ गते मृत्यु भयो।
घटनामा घाइते भएका तीन जना अझै उपचाररत छन् भने तीन जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।
कप्तानगन्जको घटना अचानक भएको थिएन। यसको पृष्ठभूमिमा धार्मिक तथा सांस्कृतिक गतिविधिसँग जोडिएको विवादसमेत रहेको देखिन्छ।
मुस्लिम समुदायको मोहर्रम मेलाका क्रममा असार १४ गते बजारको बीच भागमा झन्डा गाडिएको थियो। त्यही स्थानमा साउनमा बोलबम कार्यक्रमका लागि हिन्दु समुदायले पनि झन्डा गाडेपछि विवाद उत्पन्न भएको थियो।
विवाद स्थानीय जनप्रतिनिधिसम्म पुगे पनि तत्काल समाधान हुन सकेन।
पछि बोलबम यात्रामा जान लागेका युवाले देवानगन्ज–३ स्थित मन्दिरमा ठूलो आवाजमा डिजे बजाएको विषयलाई लिएर दुई समूहबीच विवाद भयो। विवाद झडपमा परिणत भएपछि स्थिति नियन्त्रणबाहिर गएको थियो।
स्थिति नियन्त्रणमा लिन प्रहरी परिचालन भयो। तर प्रहरीमाथि समेत आक्रमण भएपछि परिस्थिति थप तनावपूर्ण बनेको समितिको निष्कर्ष छ।
छानबिन समितिले घटनाको कारण पहिचान गर्नुका साथै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन २५ बुँदे सुझाव दिएको छ।
समितिले घटनामा संलग्न व्यक्तिमाथि कारबाही गर्न सिफारिस गरेको छ। साथै, संवेदनशील क्षेत्रमा सम्भावित विवादलाई समयमै पहिचान गरी समाधान गर्ने, सुरक्षा संयन्त्रबीच समन्वय बढाउने र भविष्यमा यस्ता घटनाबाट हुनसक्ने मानवीय क्षति रोक्ने उपाय अपनाउन सुझाव दिएको छ।
गृह मन्त्रालयले अब प्रतिवेदन अध्ययन गरी त्यसमा उल्लेखित सुझाव कार्यान्वयन गर्ने जनाएको छ।
कप्तानगन्ज घटनाको विरोधमा सिरहामा भएको प्रदर्शनका क्रममा पनि एक जनाको मृत्यु भएको थियो। सिरहामा प्रहरीको गोली लागेर गणेश यादवको मृत्यु भएको थियो।
सिरहा घटनाको छानबिनका लागि गृह मन्त्रालयका सहसचिव पुष्पराज शाहीको नेतृत्वमा छुट्टै समिति गठन गरिएको थियो। उक्त समितिले पनि आफ्नो प्रतिवेदन गृह मन्त्रालयमा बुझाइसकेको छ।
कप्तानगन्ज घटनाको प्रतिवेदन सार्वजनिक भएसँगै प्रहरीको बल प्रयोग, आत्मरक्षा र भीड नियन्त्रणमा गोली चलाउने निर्णयको औचित्यमाथि बहस सुरु हुने देखिन्छ।
प्रतिक्रिया