संसदमा आज प्रधानमन्त्री बालेनले सांसदका प्रश्नको जवाफ दिने
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने भएका छन्। संघीय संसद् सचिवालयका अनुसार दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शाहसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम राखिएको छ।
प्रतिनिधिसभा नियमावली, २०८३ को परिच्छेद–९ अनुसार सांसदहरूले सोधेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। सभामुख डोलप्रसाद अर्यालले भदौ १ गतेको बैठकबाटै सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई संसद्मा उपस्थित हुन रुलिङ गरेका थिए।
सोहीअनुसार आजको बैठकमा प्रधानमन्त्री शाह र सांसदहरूबीच प्रत्यक्ष प्रश्नोत्तर हुने भएको हो। प्रश्नोत्तर कार्यक्रमका लागि विभिन्न दलका ११ जना सांसदले प्रश्न टिपाएका छन्।
सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समीक्षा बाँस्कोटा, अमेरशकुमार सिंह र कृष्णहरि बुढाथोकीले प्रधानमन्त्रीलाई प्रश्न गर्नेछन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट प्रमुख सचेतक बासना थापा र गीता गुरुङले प्रश्न टिपाएका छन्।

यस्तै, विपक्षी नेकपा एमालेबाट ऐनबहादुर महर र गणेशसिंह ठगुन्नाले प्रश्न गर्नेछन्। नेपाली कम्युनिस्ट पार्टीबाट वर्षमान पुन र प्रमेश हमाल तथा श्रम संस्कृतिको संसदीय दलका नेता हर्क साम्पाङले पनि प्रधानमन्त्रीलाई प्रश्न गर्ने कार्यसूची रहेको छ। राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीले पनि प्रधानमन्त्रीसँग प्रश्न गर्नेछिन्।
आजको बैठकमा प्रधानमन्त्री शाहले मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८१/८२ पनि प्रस्तुत गर्ने भएका छन्।
त्यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल र भारतबीच भएको दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौता संसद्मा प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
यसैबीच, आज विधायन व्यवस्थापन समिति तथा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकसमेत बस्ने भएको छ।
प्रधानमन्त्रीसँग सांसदहरूको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमले सरकारका नीति, कामकारबाही र जनसरोकारका विषयमा संसद्मा थप छलफलको अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया